अबका आयोजनाहरु श्रमदानमा नगराईनेः मुख्यमन्त्री शाही


२८ श्रावण, कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब सरकारले अनुदान र श्रमदानमा भैरहेका विभिन्न आयोजनाहरु अब श्रमदानमा नगराइने बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले आज कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको लाफागाडमा ४ करोडको लागतमा ८५ किलोवाटको लघु जलविद्युत आयोजना सम्पन्न कार्यक्रममा यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले तत्कालिन सरकारले उज्यालो कर्णाली कार्यक्रममा गरेका विभिन्न फुटकर आयोजनाहरुलाई प्रदेश सरकारले पूरा गर्ने कार्यक्रम अन्तरगर्त लाफगाड लघु जलविद्युत आयोजनाको काम सम्पन्न गरेको बताउनुभयो ।

उहाँले ‘कर्णालीका विभिन्न जिल्लाहरुमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुर्याउन नसकिएको ठाँउहरुमा साना लघु जलविद्युतहरुबाट विद्युत पुर्याउने तथा कर्णालीको सबै जिल्लाहरुमा राष्ट्रिय प्रशारण लाइन पुर्याउनकालागि टेण्डर प्रकृया पूरा भैसकेकोले अबको १ बर्ष भित्र कालिकोटको मान्ममा सव स्टेशनको निर्माण गरि विद्युत सेवा पुर्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य कुर्मराजी शाही, नेकपा जिल्ला अध्यक्ष धनजित शाही तथा जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीको उपस्थिति रहेको थियो ।