बिस्नप्रसाद न्यौपाने
फागुन २४, कालिकोट ।
कालिकोट जिल्लामा यस बर्ष ४४ हजार स्याउका बिरुवा बितरण गरिएकोे छ । कालिकोट जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन व्यवसायीक स्याउ खेतीको बिस्तार गर्दै आएको कार्यालयले यस आर्थिक बर्षमा स्थानिय सरकारको कृषि कार्यक्रम अन्तरगत स्थानिय कृषकहरुको मागको आधारमा ४४ हजार स्याउका बिरुवा बितरण गरेको हो ।
जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागबानी विकास अधिकृत भक्तिराम शर्माले जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र शान्नित्रिवेणी गाउपालिका गरी ४ वटा स्थानिय तहमा मात्र ४४ हजार स्याउका बिरुवा तथा १२ हजार ओखरका बिरुवा र ५ सय किबिका बिरुवा बितरण गरिएको जानकारी दिनुभयो । खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमूख समेत रहेका शर्माले कर्णालीमा व्यवसायीक स्याउ खेती विस्तारका लागि सरकारले स्याउ मिसन कार्यक्रम मार्फत एक स्याउको विरुवा हुर्काए बापत निरन्तर तीन बर्षसम्म एक सयका दरले अनुदान दिदै आएको कार्यक्रमको बजेट स्थानिय तहमा गएपनि त्यसबारे जानकारी नै नभएर साधारण रुपमा कृषकको मागका आधारमा बिरुवा बितरण गरिएको बताउनुभयो । उहाँले कतिपय स्थानिय तहले कृषि कार्यक्रममा आएको बजेट नै अन्य विकासी योजनामा बिनीयोजित गरेर यस बर्ष कृषि कार्यक्रम नै नचलाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा यस बर्ष ६ हजार स्याउ, ४ हजार ओखरका बिरुवा बितरण गरिएको छ । यस्तै रास्कोट नगरपालिकामा १६ हजार स्याउ र ३ हजार ओखरका बिरुवा बितरण गरिएको छ । शान्नित्रिवेणी गाउपालिकामा ३ हजार, ५ सय ५० स्याउ र ३ हजार ओखरका बिरुवा बितरण गरिएको छ । यस्तै जिल्लाको स्याउ पकेट क्षेत्रका रुपमा चिनिएको तिलागुफा नगरपालिकामा १८ हजार ४ सय ५० स्याउका बिरुवा, २ हजार ओखर र ५ सय किबीका बिरुवा बितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमूख सुनीलकुमार सिंहले विगत केही बर्षदेखी बिरुवा लगाउन चाहाने कृषकहरुबाट नवेदन माग गरेर किसानकै गाँउमा गएर खाल्डो हेर्दै बिरुवा बितरण गर्दा स्याउ खेतीमा कालिकोटले निकै फड्को मारेको बताउनुभयो । उहाँले जसका कारण जिल्लाको तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकामा मात्र बार्षिक रुपमा ३ हजार टन स्याउ निर्यात हुँदै आएको बताउनुभयो । उहााले विगतका बर्षहरुमा कृषकको लालपुर्जामा भएको जग्गाको क्षेत्रफल अनुसार आवश्यक पर्ने बिरुवाहरु कृषकहरुलाई उपलब्ध गराईएकोले बगैचा व्यवस्थापनमा सहज भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय प्रमूख सिंहका अनुसार विगतका बर्षहरुमा जिल्लाका साविकका ८ गाविसहरुलाई स्याउ पकेट क्षेत्रका रुपमा बिस्तार गरेको थियो । जिल्लाका चिल्खाया, फोईमहादेव, राचुलली, पाँखा, दाँहाँ, कालिका, सुकाटिया, स्यूना, सीपखाना र फुकोट गरी आठ वटा गाविसहरुमा व्यवसायीक स्याउ खेतिका लागि उच्च प्राथमिक्ता राखेको उनले बताए । उनले भने, अहिले जिल्लाका ती ठाँउका किसानहरुले ग्रामिण कृषि सडक बिस्तार नभएका कारणले उत्पादित बस्तुहरु बजारमा ल्याउनका लागि सास्ती खेपिरहेका छन् ।



Milan Shrestha । २४ फाल्गुन २०७४, बिहीबार १२:१५ बजे