धुलो र धुवाँको फेरोमा कर्णालीको राजधानी


चैत्र ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत धुलो र धुवाँले आक्रान्त बन्दै गइरहेको छ ।

हुनत विकास हुनलाई केही विनास पनि सहनु पर्छ भन्ने मान्यता छ तर वीरेन्द्रनगरमा बन्दै गरेको चारलेन सडकबाट निस्केको धुलोबाट वीरेन्द्रनगरबासीहरु मारमा परेकाहुन् ।

चारलेनको सडक बन्दै गर्नु कर्णाली प्रदेशकालागि खुसीको कुरा हो तर सडक बनाउँदा सम्वन्धित निकायले ध्यान नदिँदा सडकमा उडेको धुलोका कारण वीरेन्द्रनगरबासीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ ।

सम्वन्धित निकायले धुलो नउडोस भन्नकालागि केही मात्रामा सडकमा पानी हाल्ने गरेको छ तर त्यो काम हात्तीको मुखमा जिरा जस्तै भएको छ ।

त्यस्तै कर्णाली प्रदेशकै चर्चित र ऐतिहासिक क्षेत्र वीरेन्द्रनगर ९ मा अवस्थित काँक्रेविहार जाने मार्गको हालत पनि उस्तै छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट काँक्रेविहार बाटोमा पनि जताततै खाल्डोले गर्दा वेहाल छ ।

काँक्रेविहार जानकालागि आउने स्वदेशी तथा विदेशी पर्यटक आउँदा त्यस क्षेत्रका बासिन्दा सडकका कारणले लाज लाग्ने गरेको बताउँछन् ।

त्यती मात्र नभएर विहान कलेज जाने विद्यार्थीहरु अनी मर्निङ्गवाकमा जानेहरु सडकमा उड्ने धुलोको कारण समस्यामा परेको बताउँछन् ।

एकातिर धुलो अर्को तिर बस्तीको विचमा रहेको इट्टा उद्योगबाट निस्कने धुवाँका कारण स्वास्थ्यमा समस्या भएको स्थानीयबासी विशाल केसी बताउँनुहुन्छ ।

यदी चाँडै नै यो समस्या हल गर्न सम्वन्धित निकायको ध्यान नजाने हो भने यस क्षेत्रमा बसोबास गर्नेहरुले वातावरण प्रदुषणको कारणले निक्कै नै ठूलो स्वास्थ्य समस्या आउने केसी बताउनुहुन्छ ।

एकातिर कर्णाली प्रदेश अर्गानिक प्रदेश भनेर घोषणा गरिनु अर्कोतिर वातावरण प्रदुषणका कारण यहाँ बसोवासगर्नेहरु हैरान हुनु त्यति शोभनीय नहुँने हुँदा सम्बन्धित सरोकारवाला निकायहरु यथाशिघ्र यहाँको प्रदुषण निवारणमा लाग्न आवस्यक देखिन्छ ।