बैंकको चर्को ब्याजविरुद्ध सुर्खेतका व्यापारी आन्दोलित



२४ माघ, सुर्खेत । सुर्खेतका व्यापारीहरुले बैंकहरु पञ्चायतकालीन सामन्ति जमिन्दार जस्ता भएको आरोप लगाएका छन् । उतिबेलाका सामन्ति जमिन्दारहरुले ललाईफकाई जाली तमसुक गरेर ऋण दिने र पछि त्यहि जाली तमसुकका आधारमा झुक्याएर ऋणीको घरखेत कब्जा गर्ने जस्तै व्यवहार बैंकहरुले देखाएको उनीहरुको आरोप छ ।
बैंकहरुले एकपक्षीय रुपमा ब्याजदर बढाएको विरोधमा (आज) विहीबार वीरेन्द्रनगरमा भएको शान्तिपूर्ण विरोध र्र्यालीपछिको कोणसभामा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन ।
संघका अध्यक्ष धनबहादुर रावतले वार्षिक ३ अर्ब रुपैयाँसम्म मुनाफा कमाएको दाबी गर्ने बैंकहरुले व्यवसायीहरुको बाध्यताको नाजायज फाइदा उठाउन खोजेको टिप्पणी गर्नुभयो । बैंकहरुले आपसी सिण्डीकेट चलाएर व्यापारी व्यवसायीलाई टाट पल्टाउने गरी आफूखुशी ब्याजदर निर्धारण गर्ने गर्दापनि राज्य मूकदर्शक बनेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । शुरुमा सस्तो ब्याजदरको आश्वासनमा ललाई फकाई ऋण लिन उक्साउने। उहाँले भन्नुभयो, घरघडेरी धितो राखेर ऋण लिएपछि ढाडै सेकिने गरी ब्याज बढाउनु कत्तिको न्यायसंग हो?
‘एउटा ब्यापारीले दुई प्रतिशत मात्र फाइदा खाएर व्यापार गर्दा कालोबजारी गरेको देख्ने राज्यले बैंकहरुको सिण्डीकेट र कालोबजारी गरेको नदेख्नु वा नदेखेझैं गर्नु आर्श्चयजनक भएको उहाँको टिप्पणी छ ।
यस्तै संघका उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतले व्यापारीबाट चर्को ब्याज असुलेर आर्थिक समृद्धि नहुने भन्दै समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्नपनि निजी क्षेत्रको साथ र सहयोग चाहिने उल्लेख गर्नुभयो ।
निजी क्षेत्रले सहजतापुर्वक लगानी र व्यापार गर्नसक्ने अवस्था नभए कर्णाली प्रदेश जस्तो आर्थिक रुपले कमजोर प्रदेशमा आन्तरिक र वाह्य कुनैपनि किसिमका लगानी भित्रिन नसक्ने ठोकुवा गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैंकहरुको चर्को ब्याजको मारमा सबैभन्दा धेरै साना तथा मझौला व्यापारी र उद्योगी मारमा परेको भन्दै व्यापार व्यवसायबाटै पलायन हुनुपर्ने विकराल अवस्था सिर्जना हुन लागेको जिकिर गर्नुभयो ।
यस्तै संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले व्यवसायिक ऋणको ब्याजदर घटाएर ७ प्रतिशतमा नझारे आफ्ना व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाएर पलायन हुने स्थिति आउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
ऋण लगानी गर्दा कम ब्याजदर देखाउने र घरखेत धितो राखेर ऋण लिएपछि ढाड सेकिने गरी ब्याज बढाउने कार्य बैंकहरुका लागि पनि प्रत्यूपादक हुने उहाँको चेतावनी छ ।
पहिलो चरणमा सांकेतिक रुपमा शालिन ढंगले शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जिकिर गर्दै उहाँले व्यापारीका मागको सुनुवाई नभए कठोर संर्घष गर्ने घोषणापनि गर्नुभएको छ ।
चर्को ब्याजको विरोधमा संघले विहीबार कुनैपनि किसिमका बैंकिंग कारोवार नगर्न आहृवानसमेत गरेको छ ।
यसअघि ब्याजमा गरेर वृद्धि हुँदै आर्थिक समृद्धि, बैंक थरि थरि ब्याज मनपरिलगायतका नारासहितका प्लेकार्डसहित मंगलगढीबाट शान्तिपूर्ण विरोध र्र्याली पनि निकालिएको थियो ।
मंगलगढीबाट मुख्यबजार, गणेशचौक, अस्पतालचौक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको र्यालीले प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत अर्थमन्त्रीलाई विरोधपत्रसमेत बुझाएको छ ।
तीन तहका सरकारले लगाएका करलाई परिस्थितिजन्य बाध्यता र आर्थिक समृद्धिको आवश्यक्ताका रुपमा लिएपनि बैंकहरुको चर्को ब्याजले व्यापार व्यवसाय चौपट हुने अवस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।