गुराँस गाउँपालिकामा सिसि टिभी क्यामेरा जडान



सुर्खेत, ७ चैत ।
दैलेखको गुराँस गाउँपालिकाले कार्यालयमा हुने कामलाई प्रभावकारी र मर्यादित बनाउन सिसि क्यामेरा जडान गरेको छ ।
कर्मचारीको कार्य प्रति निगरानी गर्न तथा सेवाग्राहीलाई समयमा सेवा उपलब्ध गराउन सिसि टिभी क्यामेरा जडान गरिएको हो । सिसि टिभी जडान पश्चात कर्मचारीले काम गरेको नगरेको प्रति रेकर्ड रहने तथा सेवा लिन आउने सेवाग्राहीले के कस्ता कार्य गरिरहेको छन् भन्ने जानकारी प्राप्त हुने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनु भयो ।

उहाँका अनुसार गाउँपालिकामा कर्मचारीहरुको काम प्रति जनगुनासो बढ्न थालेपछि सिसि टिभी जडान गरिएको हो । सिसि टिभीबाट कर्मचारीहरुको कामको मुल्याङ्कन आफैले गर्ने अध्यक्ष ओलीले जानकारी दिनु भयो । गाउँपालिकामा कुनै व्यक्तीबाट अपराधिक कार्य हुन सक्ने भन्दै अध्यक्ष ओलीले गाउँपालिका कार्यालयलाई सुरक्षाको महसुस बनाउन पनि सहयोग पुग्ने बताउनु भयो । उहाँले गाउँपालिकाका सबै विद्यालय र कार्यालयमा केहि समयपछि सिसि टिभि क्यामेरा जडान गर्ने योजना रहको बताउनु भयो ।