कर्णाली प्रदेशमा क्षयरोगी संख्या बढ्दो ।


मिलन श्रेष्ठ
सुर्खेत, ९ चैत्र ।
बिरामीले समयमै उपचार शुरु नगर्दा सुर्खेतमा क्षयरोग मुख्य समस्याका रुपमा देखा पर्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

विश्व क्षयरोग दिवसको पुर्व सन्ध्यामा आज वीरेन्द्रनगरमा पत्रकारहरुसँग अन्तरक्रिया गरी कार्यालयका सुचना अधिकारी वसन्तमान श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो ।
मल्टी ड्रग रेसिस्टेन्सबाट वर्षेनी पाँच लाख बिरामीहरु रहेको जानकारी दिँदै उहाँले त्यस्ता बिरामीहरु उपचारमा नआउँदा समस्या भएको बताउनुभयो ।

अहिले करिब ३० प्रतिशत मात्रै मल्टी ड्रग रेसिस्टेन्सका बिरामी आफुहरुको सेवामा रहेको पनि सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा सुर्खेतमा ३ सय ३० क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उहाँले गत वर्षकै हाराहारीमा बिरामी फेला परेको बताउनुभयो ।

सुर्खेतको गुर्भाकोटमा सबैभन्दा बढी बिरामी फेला परेको उहाँको भनाई छ ।
क्षयरोगका धेरै बिरामीहरुलाई उपचारमा ल्याएर क्षयरोग अन्त्य गर्ने रणनिती तयार भएको पनि सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

उहाँले अब केन्द्रमा छाती रोग अस्पतालसँगै प्रदेशस्तरमा व्यवस्थित प्रयोगशाला स्थापना गर्नका लागि पहल भईरहेको पनि बताउनुभयो ।