देउती अस्पतालमा आईसियु र भेन्टिलेर सेवा शुरु हुँदै, सुर्खेतका पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबर छुट दिइने


१२ बैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा विगत १७ बर्षदेखि सञ्चालित  देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती अस्पतालले आइतवार उपचार शुल्कमा १० हजार बराबरको उपचार खर्चमा छुट दिने घोषणा गरेको हो ।

अस्पतालका प्रवन्ध निर्देशक डा. लोकेन्द्र थापाले पत्रकारहरु पनि समाजमा हरेक घटनामा अग्रपंक्तिमा खटिने भएकोले महासंघ सुर्खेत शाखाको समन्वयमा सुर्खेतका पत्रकारहरुलाई जटिल किसिमको उपचार सेवामा १० हजार बराबरको छुट दिइने बताउनुभयो । उहाँले पत्रकारहरुसँग देउती अस्पताल सहकार्य गरेर जान चाहेकोले यो घोषणा गरेको उल्लेख गर्नुभयो ।

केही दिनभित्र महासंघ र अस्पतालवीच सो सम्वन्धमा लिखित सहमति गरिनेछ । प्रवन्ध निर्देशक डा. थापाले प्रदेशमै पहिलो पटक ३२ स्लाइसको सिटी स्क्यान सेवा संचालन गरिएको, गुणस्तरीय ल्याव सेवा समेत संचालन गरिएको बताउनुभयो । साथै आईसियु र भेन्टिलेर सेवा पनि केही दिनमै संचालन गरिने उहाँको भनाइ छ ।

देउती अस्पताल प्रालिका डा. शुभ श्रेष्ठले देउती अस्पतालले कर्णाली प्रदेशमै नयाँ सेवासुविधाहरु थप गरेर उपचार थालिएको दावी गर्नुभयो । उहाँले भाँच्चिएको हिप जोडेर प्रदेशमै पहिलो पटक नयाँ काम गरेको उल्लेख गर्नुभयो । साथै अस्पतालले बाहिरबाट दक्ष चिकित्सक ल्याएर सुपर विशेषज्ञ सेवा पनि संचालन गरेको जानकारी दिँदै उहाँले अस्पतालबाटै सेवा दिएर यहाँका बिरामी बाहिर जान नदिन आफूहरु प्रयासरत रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले देउती अस्पतालले महासंघसँग सहकार्य गरेर पत्रकारहरुलाई उपचार शुल्कमा १० हजारसम्म छुट दिने घोषणा गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि महासंघ सहकार्य गरेर जान तयार रहेको बताउँदै यसबाट जिल्लाका पत्रकारहरुको स्वास्थ्य सेवामा आर्थिक व्ययभारमा केही राहत महसुस गर्ने बताउनुभयो ।

सो अवसरमा देउती अस्पताल प्रालिले नेपाल पत्रकार महासंघका कर्णाली तथा सुर्खेत शाखामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानसमेत गरेको छ । सम्मान कार्यक्रममा देउती अस्पतालका संचालकहरु डा. पारश पौडेल सहित, डा. अम्बु थापा, डा. कविता थापासमेतको उपस्थिति रहेको थियो ।