
पहल असिम
धेरै भयो रमाउन छोडेको केटाकेटी आँगनमा
बज्न छोडेदेखि हजुरआमाको लोरी आँगनमा
म किसानको छोरो गुलाबधारी मान्छे बनिन
तारबारका लागि रोपेको छु केतुकी आँगनमा
बिहान गाइको गोबरले पोतेर आँगन शुद्व पार्छन्
साँझ गाई काटेर भतेर लाउँछन् त्यही आँगनमा
बर्खा आउन लाग्यो बा छैनन् खर्क पनि बाँझै छ
अब को बजाइदेला मेरा लागि मुरली आँगनमा
कसरी पढेर सुनाउँ कसरी सम्झाउँ आमालाई
पुगेको छ खाडी जाने दाइको चिट्ठी आँगनमा
Milan Shrestha । ११ चैत्र २०७४, आईतवार ०४:२५ बजे