पत्रकारहरुको निःशुल्क आँखा जाँच


१३ चैत्र, सुर्खेत . नेपाल पत्रकार महासंघ सुर्खेतले ६८औं स्थापना दिवसको अवसरमा सुर्खेत जिल्लामा कार्यरत पत्रकारहरुकालागि निःशुल्क आँखा जाँच,औषधि तथा चश्मा वितरण शिविर सञ्चालन गरेको छ ।

दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्ने क्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै महासंघको ६८ औं स्थापना दिवसको अवसरमा आज (सोमवार) निःशुल्क आँखा जाँच, औषधि तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो । पत्रकार महासंघले नेपाल, नेपाल नेत्रज्योति संघ तथा एकीकृत आँखा तथा कान कार्यक्रमको सहकार्यमा सुर्खेतमा कार्यरत पत्रकारका लागि निःशुल्क आँखा जाँच,औषधि तथा चश्मा वितरण शिविर सञ्चालन गरेको हो ।

पत्रकार महासंघ सुर्खेतको परिसरमा आयोजना गरिएको शिविरमा ६० जना पत्रकारले आँखा जाँच गराएका छन् । त्यसमध्ये धेरैजसो पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चश्मा वितरण गरिएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले बताउनुभयो । यस्तै समस्या देखिएकालाई आँखामा लगाउने औषधि वितरण गरिएको छ । नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान कार्यक्रमका प्रदेश संयोजक मानबहादुर कुँवरले सामाजिक उत्तरदायित्वको भूमिका निर्बाह गर्न राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ भन्ने भावनाले शिबिर सञ्चालन गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले आँखा जस्तो संवेदनशील अंगको परीक्षण गर्नका लागि नेपाल नेत्रज्योति संघसँगको सहकार्य उपलव्धीमूलक बनेको बताउनुभयो । शिविरमा सुर्खेतसहित दैलेख, जुम्ला, जाजरकोट, कालीकोटका पत्रकारहरुको आँखा जाँच गरिएको थियोभने नेत्र अधिकृत सुनिल चौधरी, दीपेन्द्रप्रसाद सहनीलगायतको टोलीले आँखा जाँच गरेको थियो ।