प्रधानमन्त्री ओली २३ गते भारत भ्रमणमा जाने


काठमाडौँ —

प्रधानमन्त्री केपी शर्मा ओली आउदो २३–२५ सम्म भारत भ्रमणमा जाने भएका छन् । पहिलो प्रधानमन्त्रित्वकालमा चिसिएको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ प्रधामन्त्री ओली भारत जान लागेका हुन्  ।

यसै साता एक सार्वजनिक कार्यक्रममा सम्बन्ध सुधारकै लागि भारत जान लागेको औपचारिक रुपमा बताएका थिए ।
संविधान जारी भएकोमा असन्तुष्टी जनाउँदै भारतले नाकाबन्दी गरेपछि ओली नेतृत्वको विगतको सरकारसंग सम्बन्ध चिसिएको थियो ।
त्यसबेलाको भ्रमणका क्रममा नेपालमा संविधान जारी भएको बिषयमा भारतले स्वागत गर्न समेत कन्जुस्याई गरेपछि द्विपक्षीय वक्तव्य समेत जारी भएको थिएन ।
स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै तहका चुनावमा एमाले नेतृत्वका बाम गठबन्धन शक्तिशाली रुपमा उदाएपछि भारतीय पक्षले ओलीसंग सम्बन्ध सुधारेर जान चाहेको थियो । त्यसकै लागि महौल बनाउन भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आएकी थिइन् । स्वराजको भ्रमण एमालेको निमन्त्रणामा भएको थियो ।
दुबै छिमेकीसंग सम्बन्ध राम्रो बनाएपछि मात्र आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने ठानेका ओलीले दोस्रोपटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भारत नै गर्न लागेका हुन् ।
यसपटकको उनको यो भ्रमण दिल्ली केन्द्रित हुनेछ । विगत सञ्चालन भइरहेको आयोजनाहरुको समिक्षा र नयाँ शिराबाट द्विपक्षीय सम्बन्ध सुधारको पहल हुने प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।          कान्तिपुर अनलाइनबाट