देउती बज्यै मन्दिरमा महायज्ञ २०७५ हुदै


फाईल तस्विर ।

मिलन श्रेष्ठ
सुर्खेत, १९ चैत ।
सुर्खेत जिल्लाको एक मात्र धार्मिक एवंम् ऐतिहासिक बोकेको देउती मन्दिरमा देउती बज्यै विराट धनधान्य महायज्ञ २०७५ आयोजना गरिने भएको छ । आगामी वैशाख ७ गतेदेखि सुरु हुने उक्त महायज्ञ ९ दिनसम्म चल्ने व्यवस्थापन आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।
उनका अनुसार देउती बज्यै परिसरलाई आगामी ५ वर्षभित्र व्यवस्थित बनाउने गरी अघि समिति अघि बढेको हो । मंगलबार(आज) देउती बज्यै मन्दिर मै इन्जिनियर र समाज सेवीको टोलीसँगै वीरेन्द्रनगरका नगरप्रमुखले समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनको भनाई छ । उक्त अवलोकन पश्चात मन्दिरको विकासकालागि गुरुयोजना समेत बनाईने उनले जानकारी दिए ।
पुराना सम्पदाहरु व्यवस्थित गर्दै लेजानुपर्छ भन्ने मुख्य सोचतका साथ काम सुरु गर्न खोजिएको उनले बताए । ‘इटा देखि सिमेन्टसम्म दान गर्ने महानुभावलाई हामी ठुलो सम्मान गर्नेछौं ।’ उनले भने, ‘सबैको सानो सहयोगमा देउती बज्यै मन्दिरको मुहार परिवर्तन हुनसक्छ । यसकालागि आउनुहोस, हामी सहकार्य गरौं र पुण्य कमाऔं ।’
देवघाटबाट आएका युवा सन्त सविन सिवाकोटीले मन्दिर भित्र स्नान गृह, आश्रम, बगेंचा,सफा शौचालय, कुण्ड, विश्रामस्थल र मन्दिरहरु निर्माण गरिने बताए । ‘दानी मरे सबै रुन्छन, धनि मरे कोही रुदैंनन् ।’ उनले भने, ‘त्यसैले आउनुहोस् मन्दिर बनाउन सक्नेले दान गरौं, नसक्नेले एकछाक भएपनि खाएर जाऔं ।’
मुकुन्दश्याम गिरी संयोजक रहेको उक्त समितिमा सहसंयोजक डाक्टरसिंह गुरुङ, महासचिव रमेश सापकोटा, सचिव नारायण कुमार चपाई, सहसचिव जीवन कुमार शर्मा, कोषाध्यक्ष सुरज प्रसाद आचार्य, सहकोषाध्यक्ष रमेश खड्का पदाधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा रमेश कुमार पाण्डे, प्रेमबहादुर रावत, पार्वती गिरीलगायत २१ सदस्यीय समिति गठन भएको हो ।