
कृष्णराज धमाला
चैत्र २४, रास्कोट कालीकोट । रास्कोट नगरपालिकाका बिजयी जनप्रतिनिधिहरु नागरिकका दैनिक काम काजमा भन्दा भत्ता बुझ्ने प्रतिष्पर्धामा चलायमान देखिएकाछन् ।
जनप्रतिनिधिहरु कार्यालयको काम भन्दा दैनिकजसो सञ्चालन हुने सरकारी तथा गैरसरकारी निकायहरुका भत्तावाला कार्यक्रममा धाउने प्रतिष्पर्धा चल्दै आएको हो ।
नगरप्रमुख देखि वडा अध्यक्ष तथा वडा सदस्यहरु कुन ठाउँमा कस्को आयोजनामा कार्यक्रम हुँदैछ, त्यसको जानकारी पाउनासाथ आफू नजिकका सदस्यहरुलाई बोलाउने र भत्ता बुझ्ने गरेको कार्यक्रममा सहभागी हुन नपाएका वडा सदस्यहरुले गुनासो गरेकाछन् ।
१ दिनमा कोही ३ देखि ४ वटा बैठकमा सहभागी हुन्छन् र भत्ता बुझ्छन्, कोही सदस्यलाई एउटा बैठकमा पनि सहभागी गरिदैन एक वडा सदस्यले गुनासो गरे हामी पनि मर्कामा छौं । उनले थपे पालैपालो सबैलाई सहभागी गराउँदा नयाँ कुरा सिक्ने अवसर पनि मिल्थ्यो तर यहाँ प्रमुख र वडा अध्यक्षको गुलामी गर्नेहरुले मात्रै अवसर लिने गरेकाछन् ।
भत्ता पचाउनका लागि उनिहरुले दिन बढाउन र बढि रकम असुल्न एक दिनमा सकिने बैठक, गोष्ठि, सेमीनार बासी राखेर अर्को दिनको पनि भत्ता बुझ्ने गरेको प्रत्यक्षदर्शी सदस्यको गुनासो छ ।
रास्कोटमा आयोजित जिल्ला स्तरिय एक कार्यक्रममा जनप्रतिनिधिले आफू अनुपस्थित भएपनि टेलीफोन गरी आफ्नो भत्ता पठाइदिन अनुरोध गरेको एक कार्यालय प्रमुखले जानकारी दिनुभयो । उहाँले भन्नुभयो रास्कोट नगरपालिकाका जनप्रतिनिधिहरु काममुखी नभएर भत्तामुखी भएको स्पष्ट भएको जानकारी दिनुभयो ।
जनप्रतिनिधिहरु नागरिकका काममा भन्दा ब्यक्तिगत फाइदाका लागि क्रियाशिल देखिएको माओवादी केन्द्रका यूवा नेता धर्मराज शाही पोषणको भनाइ छ । रास्कोट नगरपालिकामा मनोमानी चलिरहेकोछ, यो कत्ति दिन चल्छ । जनताले बुझिरहेकाछन् उनले थपे धेरै दिन सम्म चल्दैन । नागरीकप्रति दत्तचित्त भएर लागेको देखिदैन नेता शाहीले भने ।



Milan Shrestha । २४ चैत्र २०७४, शनिबार ०६:२१ बजे