
नेपालगन्ज । जानकी गाउँपालिका-६ गनापुर कैराती पुर्वा गाउँमा गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय ४५ सय जना लाभान्वित भएका छन् । स्थानीय कैराती पुर्वा गाउँ स्थित श्री हनुमान नेपाल राष्टिूय प्राथमिक बिद्यालयमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा गाउँलेहरु लाभान्वित भएका हुन् ।
शिविरबाट विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएको बताइएको छ । उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ ३ सय ५४ जनाले स्वास्थ्य परिक्षण गराएको मध्ये महिला २२८ जना र पुरुष १२६ थिए भने आँखा तर्फ १ सय ९१ जनाले आँखा परिक्षण गराएको मध्ये महिला ११६ जना र ७५ जना पुरुषले औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षकी जेष्ठ नागरिक प्यारा लोनियाको स्वास्थ्य परिक्षण र आँखा परिक्षण गरिएको थियो भने शिविरमा सबभन्दा कम उमेर ७ महिनाका बालक हिमाँशु लोनियाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
सो अवसरमा केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट श्री हनुमान नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कैराती पुर्वा गाउँका प्रधानाध्यापक राजेश कुमार यादवलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भएको थियो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक १४ थरी औषधिहरु उपलब्ध गराइएको छ ।
शिविरमा पिप्रहवा चोक, पिप्रहवा गाउँ, महावली पुर्वा, कोठारपुर, भाटनपुर, कैराती पुर्वा, चमर पुर्वा, कपासी, वैजनाथ पुर, स्कुली पुर्वा, नयाँ पिप्रहवा, खाले पिप्रहवा लगायत १२ गाउँका प्रामीण वस्तीका सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका थिए । सो अवसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका उपाध्यक्ष लेक प्रसाद प्याकुरेलले संस्थाले स्वास्थ्यमा पहुँच नपुगेको ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै वडा कार्यालय, विद्यालय परिवार र सबैलाई सहयोगको लागि धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. दिपक जायसवाल, डा. नागेश्वर साह, दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माले जनरल तथा आँखा परीक्षण गर्नुभएको थियो भने स्टाफ नर्सद्वय सुश्री सिमरन श्रेष्ठ र अनिता रसाइलीले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।
डा. दिपक जायसवालका अनुसार शिविरमा जनरल तर्फ अधिकाँश सेवाग्राहीहरुमा छाला, कान सम्बन्धि समस्या, एलर्जी, फोहेर पानीका कारण शरीर चिलाउने, हात खुट्टा दुख्ने आदि समस्या देखिएको थियो । त्यसैगरि दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माका अनुसार एलर्जी, भाइरल आँखामा सुख्खापन, भिटामिन ए को कमी, मोतियाबिन्दु, ग्लुकोमा लगायतको समस्या देखिएको थियो ।
शिविरमा केन्द्रका उपाध्यक्ष लेक प्रसाद प्याकुरेल सचिव महेन्द्र सेडाई, सदस्य पवन जायसवाल, कार्यक्रम संयोजक महेश श्रेष्ठ, फार्मेसी सहायक टिकाराम खनाल, अस्मिता गौतम, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका राजा साहिल चिडिमार, राजु चौधरी लगायतले सहयोग गर्नु भएको थियो ।



Prawash Kumar Shakya । २३ भाद्र २०८२, सोमबार २१:५० बजे