यातायातमा विचौलिया हटाउन युवाले सुरु गरे अभियान


 यातायात कार्यालय एकान्तकुनामा विचौलियाको भूमिका अन्त्य गर्ने भन्दै सो क्षेत्रका युवाहरु लागिपरेका छन्। कार्यालयमा आउने सेवाग्राहीको काममा सहजता होस् भनेर यातायात क्षेत्र वरिपरि रहेका ४ युवा क्लब एक साथ काम गर्न थालेका छन्।

दलाली प्रवृत्ति अन्त्य गर्न र सेवाग्राहीले सहजै सेवा पाऊन् भन्ने उद्देश्यका साथ आफूहरुले युवा अभियान सुरु गरेको अभियान संयोजक नाइस खड्कीले बताए।

यो अभियानमा नयाँ नगर युवा क्लब, कुसुन्ती युवा क्लब, जन्मभुमी युवा क्लब र एकान्तकुना युवा क्लबका युवाहरुले सहकार्य गरिरहेको खड्कीले बताए। दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय परिसरमा २५ जना युवा सेवाग्राहीको सेवामा खट्ने गरेको उनले बताए।
युवाहरु बिहान कार्यालयमा आउनासाथ सेवाग्राहीको लाईन मिलाउने काममा व्यस्त हुने उनले बताए। लाईन सँगसँगै निःशुल्क फारम भर्न, फोटो टाँस्न सहयोग गर्नुका साथै खाने पानी वितरण गर्ने जस्ता काम पनि गरिरहेको खड्कीले बताए। त्यस्तै उनीहरुले फाइल पन्चिङ गर्नेदेखि सेवाग्राहीलाई आवश्यक कोठा देखाउने पनि गरेका छन्।

युवा अभियान सुरु भएसँगै सामान्य फारम भर्ने काममा खर्च हुँदै आएको सेवाग्राहीको पैसा बचत हुने गरेको छ। सेवाग्राहीसँग यातायातका दलालले सामान्य काम गरे वापत पनि २ सयदेखि ५ सय रुपैयाँसम्म लिने गरेका थिए। युवा अभियानका कारण अहिले दलालले सेवाग्राहीसँग रकम लुट्न पाएका छैनन्। यससँगै १५ रुपैयाँको पानी ५० रुपैयाँसम्ममा बेच्ने काम पनि बन्द भएको युवाहरुको तर्क छ।
युवाहरुले यी कामका लागि दैनिक ३ हजार रुपैयाँभन्दा बढी खर्च गर्नु परेपनि सेवाग्राहीसँग भने कुनै शूल्क नलिने गरेको खड्कीले बताए। यातायात कार्यालयमा लाइसेन्स, करलगायतका अन्य कामका लागि दैनिक १ हजारभन्दा बढी सेवाग्राही आउने गर्छन्। युवाहरुले १७ दिनदेखि कार्यालयमा आउनेलाई निःशुल्क सेवा दिइरहेका छन्। आफ्नो बस्ती वरिपरी दैनिक जसो नै यातायातका दलालले सेवाग्राही ठगी गरेको समाचार बारम्बार आउन थालेपछि आफूहरुले यो अन्त्य गर्न भनी अभियान सुरु गरको खड्कीले बताए।
अभियानमा जुटेका युवाहरुले कार्यालयभित्र हुने विकृतिमा समेत निगरानी गर्न सुरु गरेका छन्। युवा अभियान सुरु भएसँगै दैनिक रुपमा एक सयदेखि ५ सय रुपैयाँसम्मको टोकन बिक्री गर्ने कारोबार समेत अन्त्य भएको खड्की बताउँछन्।

साथै यातायातका दलालले कार तथा बाइकको लाइसेन्स बनाइदिन्छु भन्दै ५० हजार रुपैयाँसम्म लिई ठगी गर्नेको पनि निगरानी गर्ने गरेको उनले बताए। साथै युवाहरुले यातायात क्षेत्रलाई मद्यपान तथा धुम्रपान निषेधित क्षेत्र बनाउने अभियान समेत थालेका छन्।यातायात कार्यालयमा लेखापढीहरुले सरकारी फाईल कार्यालय परिसर भन्दा बाहिर लगेर काम गर्ने बानीको पनि निगरानी गरिरहेको उनले बताए।

अहिले यातायातका दलालहरुले युवा अभियानको कामलाई केही रोक नगरेपनि उनीहरु भित्र भित्र भने डाह गरेर बसेको युवाहरु बताउँछन्। साभारः सेतो पाटी डट कम ।