दश कक्षा सम्म लाग्ने सबै खर्च बेहोर्ने प्रतिबद्धता
बिस्नप्रसाद न्यौपाने
बैशाख ७, कालीकोट ।
नेकपा एमाले कालीकोटका अध्यक्ष नगिन्द्र शाही नेशनलले कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ का ७ बर्षिया शुशिल बादीलाई बिद्यालय भर्ना गरेका छन् । सरकारले यही बैशाख ५ गतेदेखी औपचारीक रुपमा सुरु गरेको बिद्यार्थी भर्ना अभियान अन्तरगत अध्यक्ष शाहीले लालपुर्जा बिहिन कृष्ण बादी र उनकी धर्मपत्नी सुर्जकला बादीका छोरा शुशिल बादीलाई बिद्यालय भर्ना गरेका हुन् ।
‘हामी सबैको इच्छा, निशुल्क अनिवार्य आधारभुत शिक्षा, आर्थिक सामाजिक साँस्कृतिक एवम् शारिरीक अशक्तताको कारणले बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई खोजि खोजि भर्ना गराउँ’ भन्ने मुल नाराका साथ बिद्यार्थी भर्ना अभियान अन्तर्गत जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ मा रहेको महादेब आधारभुत बिद्यालय बालमन्दीरमा अध्यक्ष शाहीले गरीब तथा बिपन्न परिवारका शुशील बादीलाई कक्षा १ मा भर्ना गरी उनको अभिभावकत्व ग्रहण गरेकाछन् । जिल्लाको खाँडाचक्र नगरपालिका निवासी लालपुर्जा बिहिन बुवा कुष्ण बादी र आमा सुर्जकला बादीका छोरा शुसील बादीलाई महादेब आधारभुत बिद्यालय बालमन्दीरमा भर्ना गरी कक्षा १ देखी कक्षा १० सम्मको सबै पढाई खर्च आफैले बेहोर्ने प्रतिबद्धता समेत अध्यक्ष शाहीले जनाएका छन् ।
महादेब आधारभुत बिद्यालय बालमन्दीरकी प्रधानाध्यापक नन्दाकुमारी शाहीको अध्यक्षतामा भएको बिद्यार्थी भर्ना कार्यक्रममा उनले अभिभावकत्व ग्रहण गर्दै कालीकोट जिल्लाका सतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना गर्न सबैले अभियान थाल्नुपर्नेमा जोड दिए । शिक्षा बिना व्यक्ति तथा मुलुकको सम्बृद्धी नहुने बताउदै एमाले अध्यक्ष शाहीले जिल्लालाई साक्षर जिल्लाका रुपमा विकास गर्नका लागि कुनै पनि बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर राख्न नहुँनेमा समेत जोड दिए । उनले भने, बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पढ्नबाट बन्चीत नराउनको लागि भर्ना अभियानको अबधीमा सबैले जागरुक भएर गाँउगाँउ टोलटोलमा भर्ना अभियान संचालन गर्नुपर्छ ।
जिल्ला शिक्षा अधिकारी बिष्णु तिवारीले कालीकोट जिल्लामा अझै २ प्रतिशत बिद्यालय उमेरका बालबालिकाहरु बिद्यालय बाहिर रहेको जानकारी दिए । उनले गत बर्षको तथ्यांक अनुसार ९८ प्रतिशत बिद्यालय उमेरका बिद्यार्थीहरु बिद्यालय भर्ना भएको बताए । उनले भने, यस बर्ष हामीले ९८ प्रतिशतबाट ९८ दशमलव ५ प्रतिशत बिद्यार्थीहरु बिद्यालय भर्ना गर्ने लक्ष्य राखेका छौं । सत प्रतिशत बिद्यार्थीहरु बिद्यालय भर्ना गर्न यस बर्ष पनि नसकिने उनको भनाई छ ।




Milan Shrestha । ७ बैशाख २०७५, शुक्रबार १३:५९ बजे