काठमाण्डौंमा कर्फ्यूको अवज्ञा गर्दै GEN-Z को प्रदर्शन


हिजोदेखि नेपालमा युवाहरूको आन्दोलनले एउटा नयाँ मोड लिएको छ, जसमा विशेष गरी ‘जेनजी’ (Gen Z) पुस्ताको सक्रिय सहभागिता देखिन्छ । काठमाडौं, भक्तपुर र रुपन्देही जस्ता प्रमुख शहरहरूमा निषेधाज्ञा र कर्फ्यू आदेशको अवज्ञा गर्दै युवाहरू सडकमा उत्रिएका छन् । 

आज बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि जेनजीका युवाहरूले कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन सुरु गरेका छन् । हिजो १९ जना युवाको ज्यान गएको घटनापछि आक्रोशित भएका उनीहरूका साथी र आफन्तहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेका हुन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान साढे आठ बजेदेखि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुस, भेला गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरूले त्यसलाई अवज्ञा गरिरहेका छन् । संसद भवन परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली  बाक्लो उपस्थिति रहेको छ । हिजो संसद भवनभित्रै प्रवेश गरी तोडफोड गर्ने केही युवाका कारण आज सेना हतियारसहित संसद भवन परिसरभित्रै तैनाथ गरिएको हो।

यसैवीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । मध्यपुर थिमी, सूर्यविनायक र भक्तपुर नगरपालिकाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको हो ।

त्यस्तै जेनजीको सम्भावित प्रदर्शनलाई लक्षित गरी रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी आदेशमा रुपन्देहीका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपले शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू हुने जनाइएको छ ।

उता विराटनगरमा पनि सुशासन र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विरोधमा जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् । आज दिउँसो ११ बजेबाट विराटनगरमा यातायात बन्द गर्ने उनीहरूको घोषणा छ । आन्दोलनरत पक्षले सर्वसाधारणलाई बिहान ११ बजेसम्म आफ्नो काम सक्न आग्रह गरेको छ । स्थानीय प्रशासनका अनुसार मोरङको अवस्था सामान्य रहे पनि सुनसरीको इटहरीमा भने कर्फ्यू यथावत छ ।

(विभिन्न अनलाइनको सहयोगमा)