
दैलेख— नेपालको ऊर्जा भविष्यमा ऐतिहासिक मोड ल्याउने संकेत देखिएको छ । दैलेख जिल्लाको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको हो । चिनियाँ भूगर्भ विज्ञहरूको टोलीले नेपाललाई ५० वर्षसम्म पुग्ने मिथेन ग्याँस रहेको प्रारम्भिक निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि सरकारी तहमा उत्साह देखिएको छ ।
चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० साल वैशाख २८ गतेदेखि दैलेखमा ४ हजार मिटर गहिरो ड्रिलिङ गर्दै ग्याँस अन्वेषण सुरु गरेका थिए। अध्ययनको क्रममा जमिनबाट ग्याँसको गन्ध आएसँगै चट्टानका नमूना परीक्षणका लागि चीन पठाइएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार प्राप्त प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्याँस रहेको पुष्टि भएको छ । “हामीलाई जुन प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ, त्यसअनुसार ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको देखिएको छ,” मन्त्री भण्डारीले बताउनुभयो ।
तीन स्थानमा थप ड्रिलिङ, ग्याँसको मात्रा अझ बढ्ने अनुमान
ड्रिल गरिएको एक स्थानबाट ११२ अर्ब घनमिटर ग्याँसको अनुमान गरिएको छ। मन्त्री भण्डारीका अनुसार, थप तीन स्थानमा ड्रिलिङ गर्दा ग्याँसको मात्रा अझै बढी हुन सक्नेछ ।



Prawash Kumar Shakya । ५ असार २०८२, बिहीबार १२:०५ बजे