शिक्षकले साक्षरता कक्षाबाट सिके


मिलन श्रेष्ठ
सुर्खेतः शिक्षकले सबैकुरा जानेको हुन्छ भन्ने मान्यता हाम्रो समाजमा स्थापीत छ । गाउँमा पनि नेतृृत्वदेखि जीवन सफल बनाउने कुरामा शिक्षक नै अब्बल मान्ने गरिन्छ । जसले अरुको भविष्य उज्वल पार्न शिक्षा दिने गर्दछ उसको जीवन अव्यवस्थित बन्ने कुरै हुँदैन । तर कतिपय अवस्थामा पढेर भन्दा पनि परेर सिकिन्छ भन्ने नेपाली उखान पनि मानिसको जीवनमा लागु हुन्छ ।
कस्तुरीले आफ्नो वासनाको पहिचान आफै गर्न सक्दैन भनेजस्तै लामो समयसम्म अरुलाई जीवन जिउने कला सिकाइरहेका नारदप्रसादले आफ्नै जीवन सफल कसरी बनाउने भन्ने चाही अरुबाटै सिके । लामो समयसम्म शिक्षक पेशामा लागेर जीवन मुस्किलले धानिरहेका लेखपराजुल ६ का नारदप्रसाद शर्मा अहिले शिक्षक मात्रै होइन एक सफल कृषकका रुपमा पनि गाउँमा परिचित छन् । कहिलेकाँही साना कुराबाट नै जीवन बदल्ने प्रेरणा मिल्दछ भनेजस्तै शर्माको जीवन पनि एउटा सामान्य साक्षर व्यक्तिलाई दिने तालिमबाट उनको दोहोरो पहिचान बनाउन मद्दत पुग्यो ।
उनलाई एउटा सामान्य कृषक र शिक्षकबाट व्यवसायिक कृषकको पहिचान दिलाउने काम भने साक्षरता कक्षाले गरेको थियो । जीवन सहज रुपमा कटाउनका लागि गाउँका सामान्य लेखपढ गरेका मानिसहरुसँग बसेर वित्तिय साक्षरता कक्षा लिएपछि नारदप्रसाद त्यसैको प्रेरणाले एउटा सफल र व्यवसायिक किसान बनेका छन् । ‘हुन त सबै व्यक्ति सबै विषयमा जानकारी हुन्छन् भन्ने पनि रहेनछ, जब मैले वित्तिय साक्षरता कक्षा लिए तब लाग्यो मैले किताबी ज्ञान बाहेक अरु केही जानेको रहेनछु’ उनले आफ्नो विगत सुनाउँदै भने, ‘दैनिक जीवनमा भएका अािर्थक हिसाब किताब सम्बन्धिका सम्पूर्ण कुराहरु सम्झेर मात्र हुँदो रहेनछ, त्यहाँ सिकेका कुराहरु लागु गर्दा आज समाजले मलाई शिक्षकका साथै व्यवसायिक किसानका रुपमा पनि चिन्दछ ।’ उनले दैनिक क्रियाकलाप मात्रै होइन बिहानदेखि साँझसम्मको आम्दानी र खर्चको हिसाबकिताब राख्ने गरेका छन् । यती मात्र होईन २६+ १ दिनको वित्तिय साक्षरता कक्षा पढेर आफुले बीमाको बारेमा पनि धेरै जानकारी पाएको बताए ।


पहल परियोजना लागु भएपछि उनी खानेपानी उपभोक्ता समितीको सचिव, देवस्थल बाख्रापालन समूहको सचिव, वन उपभोक्ता समितिमामा आबद्ध हुँदै व्यवसायीक रुपमा बाख्रा पालन पनि गरेका छन् । ‘३०–४० वटा बाख्रा पालन गर्दै आईरहेको थिए, तर त्यो गुजारा गर्नलाई मात्रै रहेछ, परियोजनामा आवद्ध भएपछि थाहा भयो अब आफु मात्रै होइन बजारमा पु¥याउने गरी व्यवसाय गर्नुपर्दछ’ उनले थपे, ‘पहल परियोजनाको तालिममा बसे देखि आज भोली बाख्राको आंखा हेरेर कुन रोग लागेको जान्न सक्ने भएका छु, वीमा पनि गरेको छु । वित्तिय साक्षरता कक्षामा बसेदेखि स्थानिय एभेरष्ट निर्जिव वीमा समितीसँगको सहकार्यमा मेरो ४२ वटा बाख्राको १ लाख ६० हजार बराबरको बीमा पनि गरेको छु ।’ साथै उक्त बाख्रा पालन तथा कृषिका लागी रु २ लाख पनि कर्जा लिएको छु ।
लेखपराजुलको जगन्नाथ कृषि बहुउद्देश्यीय सहकारीमा स्थापना काल देखिनै सदस्य भएपनि परियोजनापछि उनले मासिक रुपमा बचतमा बृद्धि गरेका छन् साथै हाल उक्त सहकारी संस्थाबाट २ लाख रुपैया कर्जा पनि लिएका छन् । संस्थामा सबै भन्दा धेरै शेयर खरिद गर्नुका साथै छोरा–छोरीको पढाई खर्च, मासिक घर खर्च, बाख्रा, तरकारी, जडिबुटी बेच–बिखनबाट कति पैसा आयो र कति खर्च भयो सबैको लेखा–जोखा गरेर राख्ने काम पनि गरको उनी बताउँछन् । परियोजनाको वित्तिय साक्षरता कक्षा, बनमा आधिरित कार्यक्रम, खाने–पानी, स्वास्थ्य तथा सरसफाईको कार्यक्रम आएदेखि गाउघर सरसफाई हुन थालेको छ, उजाड वनमा विभिन्न बोट–विरुवा लगाएका छन्, पीउने तथा सिचाई गर्ने पानी घर नजिकै छ । उनले वित्तिय साक्षरता कक्षाका कारण विभिन्न ठाउबाट आम्दानी गरेको रकमलाई सहकारीमा नै बचत गर्नु पर्दछ भन्ने जानकारी पाएको बताए ।
विसं २०३१ साल असारमा जाजरकोटको दशेरामा सामान्य परिवारमा जन्मेका शर्माले ठूलो परिवारमा घरको काम गर्दै आफ्नो बालापन बिताए । उत्पादन कम हुने, ठूलो परिवार धान्न मुस्किल भएपछि २०४८ सालमा बसाई नै सरेर सुर्खेतको लेखपराजुलमा आइ बसे । त्यहाँ केही जग्गा खरिद गरी कृषि पेशासँगै आफ्नो अध्ययन पनि थालेका नारदप्रसादले २०५० सालमा सुर्खेतको बहुमुखि क्याम्पसबाट आइए पास गरेका थिए । जग्गाको उत्पादनले खान पुग्ने र तत्कालिन समय अनुसार पढाई पनि राम्रै गरेकाले २०५२ मा बैवाहिक जीवनमा बाँधिदै शिक्षण पेशामा आवघ भए । कृषि पेशा गरीरहेका उनलाई जागिरले गदाृ फुर्षद नहुने र परिवार पाल्न समस्या हुने हो की भन्ने चिन्ता थियो । तर जीवनसंगीनीको भरपुर साथका कारण उनले दुवै पेशालाई सँगसँगै लिन सफल भए ।
जाजरकोटबाट बसाई सरेर आएको लेखपराजुल–०२ मा विस्तारै जंगल नासिदै गर्दा खडेरीले जाजरकोटको जस्तै दुःख हुने भएपछि उनी हालको देवस्थलमा बसाइ सरेका हुन् । दुईवटा भैसी पालन गरी उनले दुध बिक्री गर्न सुरु गरेका थिए । बाटोकोे अभाव तरकारी उत्पादन गरेपनि उचित मूल्य नपाउने अनि बेच्ने ठाउ पनि न भएको हुदा, आफु शिक्षक भएपनि डोकोमा तरकारी लिएर स्थानीय छिन्चु बजारमा बिक्रि गर्न आउँदा निकै दुःख झेल्नुपरेको उनी बताउँछन् । हाल उनले कृषक भएर जन्मिनुमा आफुलाई गौरव लाग्ने गरेको अनुभव सुनाए । ‘सायद मैले कृषि पेशालाई छाडेर शिक्षकको पेशा नै सम्पूर्ण भनेको भए मैले यसरी आफ्नो १५–२० जनाको परिवारलाई पाल्न र आफ्नो सन्तानलाई भनेको झै उचित शिक्षा दनि सक्दैन थिए होला’ उनले भने, ‘पेशाले शिक्षक हूँ, र गाउमा शिक्षित व्यक्तिका रुपमा मलाई मान्ने गर्दछन्, तर आफु शिक्षक भएर पनि जब मैले वित्तिय साक्षरता कक्षा पढे आफैलाई अनौठोे लागेर आयो । म त बालबच्चालाई पढाउनका लागी मात्र शिक्षक बनेको रहेछु, मैले त केहि पनि जानेकै रहेनछु ।’
साक्षरता कक्षाबाट जीवनमा आर्थिक रुपमा सम्पन्न हुने र फजुल खर्चबाट बच्न सकिने उपायका विषयमा महत्वपूर्ण शिक्षा लिन पाएकोमा उनी खुशी व्यक्त गर्दछन् । उनले आफु अरुलाई शिक्षा दिने गरेपनि आफ्नो जीवनमा व्यवसायिक शिक्षा दिने शिक्षकको रुपमा वित्तिय साक्षरता कक्षाले नै गरेको दाबी गर्दछन् । अहिले उनले गाउँका सबैलाई बचत गर्नुपर्ने विषयमा विद्यालयका साथै समुदायमा समेत सचेत गराइरहेका छन् । वित्तिय कक्षा लिई कृषिमार्फत आत्मनिर्भर बन्न सहज हुने भन्दै आफुले जानेका कुराहरुलाई विद्यालयमा विद्यार्थीलाई पनि अनुभव सुनाउने गरेका छन् ।