भाद्र ९, २०७३- सिक्टा सिँचाइ आयोजनाको परीक्षणकै क्रममा भत्किएको मूल नहर एक महिनामा मर्मत भएको छ ।
भत्किनुको कारण नपहिल्याउँदै निर्माण कम्पनी कालिका–सीटीसीले एक महिनाभित्रै उक्त खण्ड बनाएको हो । ‘एक महिनाभित्रै निर्माण कम्पनीले उसकै खर्चमा भत्किएको भाग बनाएको छ,’ सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर ईश्वरचन्द्र मरठ्ठाले भने, ‘पहिलेभन्दा बलियोसँग बनेको छ ।’
मूलनहर भत्किएको घटनाको छानबिन गर्न प्रधानमन्त्रीको कार्यालय र सिँचाइ विभागले दुई टोली गठन गरेका थिए । उपमहानिर्देशक अशोक सिंहको नेतृत्वको टोलीले नहर चुहिने गरी बनेकाले भत्किएको निष्कर्ष निकालेको थियो । त्यस्तै सिँचाइ मन्त्रालयका सहसचिव सागर राई र तत्कालीन उपमहानिर्देशक सुशील तिवारीको टोलीले पनि माटोको गुणस्तरमा ध्यान नदिई गरिएको डिजाइन र निर्माणमा भएको त्रुटिले नहर भत्किएको प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन र सुझाव आउनुअघि नै आयोजनाले डिजाइनमा केही सुधार गरी साउनभित्रै भत्किएको खण्ड मर्मत गरेको हो ।
५० क्युमेक्स क्षमताको मूल नहरमा आधा पानी छाडदैमा भत्किएको थियो । पहिलेको डिजाइनमा हेरफेर गरी नहर मर्मत गरिएको हो । झिझरी खोलामाथिको नहरका तीन पिलरमध्ये एउटा भत्किएको छ । ५ मिटर तलबाट उठाइएको पिलरलाई झन्डै दोब्बर गहिराइबाट उठाउन थालिएको छ ।
‘आयोजनाको निर्देशन र डिजाइनअनुसार भत्किएको खण्डको मर्मत गरेका छौं,’ कालिकासीटीसीका निर्देशक युवराज क्षेत्रीले भने ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । ९ भाद्र २०७३, बिहीबार १६:२५ बजे