वजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन


१३ बैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले सरकारको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनको आवश्यक तयारी गर्न विभागिय मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रदेश सभामा वजेट प्रस्तुत भए लगत्तै सचिवहरुको बैठक बोलाएर प्रमुख सचिवले यस्तो निर्देशन दिनुभएको हो ।

मुलुक सघीय संरचनामा गईसकेपछि जनताको ठुलो अपेक्षा रहेको भन्दै प्रमुख सचिव थपलियाले जनताको अपेक्षा पुरा गर्न राजनैतिक नेतृत्वको भिजन कार्यान्वयनमा कर्मचारी प्रशासन तदारुकताका साथ लाग्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र वजेट महत्वकाँक्षी देखिए पनि कर्णाली प्रदेशको द्रुत विकासका लागि आवश्यक भएको उहाँले बताउनुभयो ।

बैठकमा विभागीय सचिवहरुले वजेट कार्यान्वयनका लागि प्रदेश सरकारको आफनै संरचना विकास नभईसकेकाले वजेट कार्यान्वयनमा समस्या आउन सक्ने सुझाव राखेका थिए ।

भर्खरै कर्णाली प्रदेशको प्रमुख सचिवका रुपमा आउनुभएका थपलियाले हिजो मात्रै पदभार गर्नुभएको थियो ।