सुर्खेत समाचारको नेमकिपा कालीकोटबाट खण्डन


कालीकोट, २ असोज। नेपाल मजदुर किसान पार्टी कालीकोटले सुर्खेतबाट प्रकाशित एक समाचारको खण्डन गरेको छ। पार्टीले हाम्रो नयाँ नेपाल पत्रिकामा प्रकाशित नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश शीर्षकमा प्रकाशित समाचार भ्रामक भएको बताएको हो।

नेमकिपा कालीकोटका अध्यक्ष नवराज कोइरालाको हस्ताक्षरमा शनिबार प्रकाशित विज्ञप्तिमा हाम्रो नयाँ नेपालमा प्रकाशित समाचारमा महेन्द्रबहादुर शाही भन्नेले आफू नेमकिपाको जिल्ला समिति कालिकोटको सचिव रहेको र नेक्रायुसङ्घको केन्द्रीय उपाध्यक्ष बताएको झूटो हो भनेको छ। विज्ञप्तिमा निज शाही नेमकिपा जिल्ला समितिको कुनै पदमा रहेको छैनभन्दै नेक्रायुसङ्घको सचिव मण्डलको २०७३ भदौ २९ गतेेको बैठकले नेक्रायुसङ्घका केन्द्रीय सदस्य निज शाहीलाई अनुशासनको कारबाही गरी नेक्रायुसङ्घको साधारण सदस्यबाट समेत निष्काशन गरेको विज्ञप्ति सार्वजनिक भइसकेको उल्लेख छ। सम्पूर्ण कार्यकर्ता र समर्थकहरू देश र जनताको इमानदारीपूर्वक सेवामा अघि बढ्न जिल्ला समिति कालीकोटले आह्वान गरेको छ।

साभारः मजदुर अनलाइन