भारतका ३ पूर्वराजदूत नेपालमा, राजनीतिज्ञदेखि पूर्वप्रशासकसम्मलाई किन भेटे ?


१५ वैशाख, काठमाडौं । आज शनिबार, राजधानीबाट प्रकाशित सबै अखबारहरुले उत्तर र दक्षिण कोरियाबीचको मिलनलाई मुख्य समाचार बनाएका छन् । ६५ वर्षदेखि तिक्त सम्बन्धमा रहेका दुई देशका उच्च नेतृत्वबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएपछि यसलाई विश्वले नै अनौठो राजनीतिक परिघटनाका रुपमा लिएको छ ।

‘कोरियाली मिलन’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुरले दुई कोरियाबीच शान्तिपूर्ण वार्ता सफल हुनुका कारणबारे पनि चर्चा गरेको छ । टीपीएस सुविधा खारेजलाई कान्तिपुरले एंकर बनाएको छ ।

अमेरिकाले महाभूकम्पका कारण नेपाली आप्रवासीलाई प्रदान गर्दै आएको टीपीएस सुविधा बिहीबार खारेज भएको हो । अमेरिकाको यो निर्णयबाट झण्डै ९ हजार नेपाली प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।

किम–मुन मिलापलाई प्रमुख समाचार बनाएको नागरिकले पहिलो बजेट अधिवेशन वैशाख २३ गतेबाट शुरु हनेदेखि गाउँपालिका केन्द्र परिवर्तनको पछिल्लो प्रवृत्तिसम्मका खबरलाई पहिलो पृष्ठमा समेटेको छ ।

गोरखापत्र दैनिकमा स्थानीय तहले सरकारको व्यावहारिक रुप लिन नसकेकोलगायतका खबर छन् भने राजधानी दैनिकले एमाले–माओवादी घोषणापत्रबमाजेजिम नीति तथा कार्यक्रमको तयारीमा सरकार लागेको लेखेको छ ।

भारतका ३ पूर्वराजदूत नेपालमा, राजनीतिज्ञदेखि पूर्वप्रशासकसम्मलाई किन भेटे ?

भारतका ३ पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरु कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् ।

कान्तिपुर दैनिक आफ्नो खबरको अगाडि लेख्छ–पर्यटकका रुपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरु बताउँछन् ।

उनीहरु अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरुलाई भेट गरिरहेका छन् । उनीहरुले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।

कान्तिपुरका अनुसार पूर्वराजदूतहरु देव मुखर्जी, श्याम शरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरु शनिबार स्वदेश फर्कंदै छन् ।

संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरु गफिरहेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई चिकित्सकको सुझावः हात नमिलाउनू, १६ घन्टाभन्दा बढी काम नगर्नू

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन चिकित्सकले सुझाव दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाव हामीले दिएका छौँ,’ उनले नयाँ पत्रिकासँग भनेका छन् ।

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिबेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए ।

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाव दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए ।

प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए ।

चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुन सक्ने बताए । अहिले कामभन्दा बढी आराममा ध्यान दिनुपर्ने, दिनमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनुपर्ने, शरीरले पचाउन सक्ने मात्रै खाना खानुपर्ने र धेरै समय खालीपेट बस्न नहुने चिकित्सकहरू बताउँछन् । हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिइएको छ ।

चिकित्सकका अनुसार नेपालीले सम्मानस्वरूप नमस्कार गर्ने तरिका नै वैज्ञानिक छ । हातबाट चाँडै संक्रमण फैलन्छ । त्यसैले चिकित्सकहरूले प्रधानमन्त्रीलाई नमस्कारबाटै काम चलाउन सुझाब दिएका छन् । अनलाइनखबरबाट