जहाँ हिन्दु र शिखले मस्जिद बनाउँदैछन्


भारतमा साम्प्रदायिक हिंसाका घटना पटक-पटक भइरहन्छ। तर पञ्जाबस्थित एउटा गाउँले धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भावको गतिलो उदाहरण पेश गरेको छ।

मिस्त्री नाजिम खानले पञ्जाबको मूम गाउँमा शिव मन्दिरको निर्माण गरिरहेका बेला उनको मनमा एउटा कमी महसुस भयो। मुस्लिम भएर शिव मन्दिरको निर्माण गरिरहेका नाजिमको गाउँमा एउटा पनि मस्जिद थिएन, जहाँ गएर उनी नमाज पढ्न सकून्।

४० वर्षीय नाजिमले भने, “हामीसँग नमाज पढ्नका लागि मस्जिद छैन। पाहुनाहरू हाम्रो घरमा आउँदा निकै अप्ठ्यारो महसुस हुन्छ।”

गरिबी

गाउँमा मस्जिद नभएको कुराले उनको मनमा जरा गाड्दै गयो।

एकदिन उनले आफ्ना गाउँका चार सय मुस्लिमहरूका माझ मस्जिद बनाउनुपर्ने प्रस्ताव राखे।

भारतमा बाबरी मस्जिद भत्काइएको २५ वर्ष

मस्जिद विस्फोटका आरोपित निर्दोष ठहर

तर गरिबीका कारण मस्जिदका लागि जग्गा खरिद गर्न सक्नु उनीहरूको सामर्थ्यबाहिरको विषय थियो। त्यस क्षेत्रका अधिकांश मुस्लिमहरू अशिक्षित छन्, जो ज्यालादारी गरेर गुजारा चलाउँछन्। त्यहाँका करिब चार सय हिन्दु र चार हजारभन्दा बढी शिखहरूको आर्थिक अवस्था चाहिँ निकै राम्रो छ।

१८ महिनापछि शिव मन्दिरको निर्माण सम्पन्न हुनेवाला थियो। त्यसैबेला नाजिमले एउटा अभूतपूर्व कदम चाले।

आभार

यसै वर्षको शुरूतिर नाजिम मन्दिर व्यवस्थापक समितिका पदाधिकारीहरूकहाँ गए।

र, उनले भने, “छिट्टै तपाईँहरूको एउटा नयाँ मन्दिर हुनेछ र नजिकै एउटा पुरानो मन्दिर पनि छ। तर हामी मुस्लिमहरूका लागि एउटा पनि मस्जिद छैन। के तपाईँहरू मस्जिद बनाउन हामीहरूलाई सानो जग्गा उपलब्ध गराउन सक्नुहुन्छ?”

त्यसको एक हप्तापछि मन्दिर व्यवस्थापक समितिले मन्दिरसँगैको ९०० वर्ग फीट जग्गा दिने निर्णय सुनायो। बिबिसि नेपालीबाट