मुगुमा २५ शैयाको अस्पताल बन्दै


निर्माणधिन अस्पताल

अविरल ढकाल,
जुम्ला, वैशाख २०,
कर्णालीको विकट मानिने मुगु जिल्ला अस्पतालको स्तरोन्नति थालिएको छ । करिब ४३ करोडको लगतमा सुविधा सम्पन्न भवन निर्माण गरी अस्पताललाई २५ शैया बनाउन थालिएको हो ।

गत साल साउन अन्तिम साताबाट सुरु भएको अस्पताल निर्माणको करिब ४५ प्रतिशत काम पूरा भएको अस्पताल श्रोतले जानकारी दिएको छ । अस्पताल निर्माणमा सहयोग गरिरहेको एम गैर सरमनरि संस्था कोइकाका अनुसार ‘स्ट्रक्चर’ निर्माणको काम सकिएको छ ।

‘फिनिसिङ’को काम सुरु गरिएको र करिब ९ महिनाको अवधिमा ४५ प्रतिशत काम सकिएको कोइकाका इन्जिनियर मक्कबहादुर स्वाँरले बताए ।

बाल मृत्युदर र मातृ मृत्युदर न्युनीकरण गरी सबैको पहुँचमा स्वास्थ्य सेवा पुयाउन अस्पताल निर्माण थालिएको कोइकाले जनाएको छ । अस्पतालका डा. ज्ञामनेश्वर शेष्ठका अनुसार सुविधासम्पन्न अस्पतालको अभावले बिरामीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत र नेपालगन्जका अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालले तीन गाउँपालिका र एक नगरपालिकाका बिरामीलाई प्रत्यक्ष उपचार सुविधा प्रवाह गर्ने जनाएको छ ।

अस्पतालको निर्माण कार्य सम्पन्न भएपछि फेरि कोइकाले नर्सिङ कलेज निर्माणका लागि आर्थिक सहयोग गर्ने इन्जिनियर स्वाँरले बताए ।