मोदीका अगाडि मधेसको ‘बेइज्जत’


मुख्यमन्त्रीले भने, ‘हामी अत्यन्तै गरीब छौं’

जनकपुरधाम, २८ वैशाख– नेपाल भ्रमणका क्रममा जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि मधेसका जनता धेरै गरीब रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसकै जनताको ‘बेइज्जत’ गरेका छन् ।

मोदीको नागरिक अभिनन्दनका लागि जनकपुरका बाह्र बिघा मैदानमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस आर्थिक रुपमा अन्यन्तै पछाडि रहेको बताए ।

उनले मधेसका जनता तुलनात्मक रुपमा अत्यन्तै गरीब, शोषित र पीडित रहेको पनि मोदीसमक्ष ‘निवेदन’ सुनाए ।

संविधान विभेदकारी !

उनले नेपालको संविधानलाई ‘विभेदकारी’ भन्न पनि भ्याए ।

संघीय समाजवादी फोरमका नेता समेत रहेका मुख्यमन्त्री राउतले पार्टीको लाइनअनुसार संविधानलाई विधेदकारीको आरोप लगाएका हुन् । फोरमले नेपालको संविधानलाई विभेदकारीको आरोप लगाउँदै आएको छ ।

नयाँ संविधानको व्यवस्थाअनुसार शपथ खाएका मुख्यमन्त्रीले अन्तर्राष्ट्रिय पाहुना उपस्थित मञ्चबाट संविधानको विरोध गरेका हुन् ।

विगतमा नेपालको संविधानप्रति रिजर्भेसन राखेको भारतले समेत नेपालको संविधान स्वागत गरिसकेको समयमा मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा संविधानको विरोध गरेका हुन् ।

सम्वोधनका क्रममा मुख्यमन्त्री राउतले नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेलको नाम उच्चारण गरेनन्, तर उनले फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतोको नाम उच्चारण गरे ।

लोकान्तरअनलाइनबाट