प्रधानमन्त्री ओली र मोदीबीच द्वारिकाज होटलमा ‘वान टू वान’ वार्ता


२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टू वान वार्ता (एक्लाएक्लै) भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिकाज होटलमा ओली र मोदीबीच वार्ता  भएको हो ।

दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै वार्ता सकिएपछि अहिले दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भइरहेको छ । शुक्रबार साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी छ ।

जनकपुरबाट काठमाडौं आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषायमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल र भारत सरकारका उच्च सरकारी अधिकारीहरुसमेत सहभागी थिए ।

अनलाइनखबरबाट