नेकपा: इन्चार्ज भन्दा सेक्रेटरी योग्य ? को को परेनन् ४४१ मा ?


 १० जेठ काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । जम्बो केन्द्रीय कमिटीमा पूर्व एमालेबाट २४१ जना र पूर्व माओवादी केन्द्रबाट २०० जना समेटिएको छ ।

पूर्व एमालेले पुरानो केन्द्रीय कमिटीबाट १९६ जना र ४५ जना नयाँ अनुहारलाई अवसर दिएको छ । पूर्व पुरानो केन्द्रीय कमिटिमा रहेका राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठलाई समेटिएको छैन । दुवैले पार्टीको हितविपरित काम गरेको भन्दै केन्द्रीय कमिटीमा नसमेटिएको हो ।

नयाँ को को परे ? 

पूर्व एमालेको जनवर्गीय सं‌गठन प्रेस चौतारीका पूर्व महासचिव विष्णु रिजाल, युवा संघ नेपालका पूर्व महासचिव निरज आचार्य र अर्थमन्त्री डा. युवराज खतिवडा लगायत ४५ जना नेता केन्द्रीय कमिटीमा परेका छन् ।

एकै दिनमा ‘सहिद’ 

नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य बनाइएका केही नेताले भने एकै दिनमा पद गुमाउनु परेको छ । यसरी पद गुमाउनेहरुमा पूर्व एमाले नेता दयालबहादुर शाही, पुण्य गौतम र साध्यबहादुर भण्डारी रहेका छन् । शाही बाजुराका प्रखर नेता हुन् । भण्डारी हालै जनमोर्चाबाट एमालेमा प्रवेश गरेका थिए । उनी नेपालका राष्ट्रवादी नेता र नेपालको भूगोलका अध्येता पनि हुन् ।

को को आउट भए ? 

नेकपामा पूर्वमन्त्रीहरु प्रदेश ७ का नेता दामोदर भण्डारी, प्रदेश १ का पूर्वमन्त्री कृपाशुर शेर्पा, प्रदेश ५ का दलबहादुर सुनार, प्रदेश २ का पुरुषोत्तम पौडेललाई केन्द्रीय सदस्यमा समेटिएको छैन ।

स्थानीय तहको निर्वाचनमा अन्य दललाई स्वीप गराउने धनकुटाका सांसद राजेन्द्र राई ,धादिङका पूर्वसांसद गुरुप्रसाद बुर्लाकोटी, बर्दियाकी महिला नेतृ शोभा ज्ञावाली, बाँकेका पूर्वसांसद देवराज भार, युवा नेता दामोदर अर्याल, नुवाकोटका राजेन्द्रप्रसाद लोहनी, कञ्चनपुरका उर्वादत्त पन्त, बझाङका गणेश विश्वकर्मा र सुनसरीका रेवती भण्डारी लगायतका नेताहरुले अवसर पाएनन् ।

सुनसरीका नेता नेता भण्डारी तत्कालीन एमालेका सचिव भीम आचार्यको कोपभाजनमा परेका थिए । उनले आचार्यकै कारण संघीय निर्वाचन समेत टिकटबाट बच्चित भए । भण्डारीले टिकट नपाउँदा सुनसरी २ वाम गठबन्धनले गुमाउनु परेको थियो ।

प्रदेश ५ प्रदेश ७ लाई विभेद 

पूर्व एमालेमा प्रदेश ५ र ७ बढी छुटेको गुनासो आएको छ । युवा नेता दामोदर अर्याल प्रदेश ५ र ७ मा धेरै नेता छुटेको बताउँछन् । प्रदेश ५ मा वामदेव गौतम र प्रदेश ७ मा भीम रावलको कोपभाजनमा परेको धेरै नेताहरु परेको आरोप लगाइएको छ ।

युवा नेता अर्यालले आफु २०४५ मा स्ववियू सभापति, अखिल र युवासंघको केन्द्रीय नेता, भेरी अञ्चल कमिटीको सदस्य तथा युवा विद्यार्थी इन्चार्ज, युथफोर्सको डिजाइनर र सञ्चालनकर्ताका रुपमा देशभरका युवा परिचालन गर्न सक्रिय भएको बताए ।

उनले आफुले काम लगाएका नेता पार्टीको केन्द्रीय सदस्य पोलिव्यूरोदेखि मन्त्रीसम्म भइसकेको बताए । एमालेबाट पत्रकार नेत एवं प्रेस चौतारीका पूर्वअध्यक्षहरु शम्भु श्रेष्ठ, गगन विष्ट र राजेन्द्र अर्याललेसमेत केन्द्रीय सदस्य हुने आकांक्षा राखेका थिए ।

अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य किशोरविक्रम मल्ल, वर्तमान अध्यक्ष नवीना लामा पनि केन्द्रीय कमिटीमा परेनन् । त्यस्तै पाँचथरका वसन्त नेम्वाङ, जाजरकोटका दिलबहादुर सिंह, कास्कीका कृष्ण थापा, सिन्धुपाल्चोकका सरेश नेपाल, मकवानपुरका कृष्णप्रसाद दाहाल, नुवाकोटका केशव पाण्डे र बाग्लुङका हिरा केसी छुटेका छन् ।

माओवादीमा पनि उस्तै 

पूर्व माओवादीबाट सचिवालय सदस्य सबैलाई समेटिएको छ । केन्द्रीय कमिटी जम्बो भएका कारण धेरै ‘आउट’ भएका छन् । तर कतिपय पर्नै पर्ने पनि परेका छैनन् । लमजुङका नेता पारसमणि पौडेल केन्द्रीय सदस्यमा परेका छैनन् ।

वाईसीएलका वर्तमान अध्यक्ष दीपशिखा केन्द्रीय कमिटीमा पर्दा पूर्वअध्यक्ष आरसी अधिकारी भने आउट भएका छन् । अखिल (क्रान्तिकारी) का रमेश मल्ल, पूर्वसांसद राजकुमार श्रेष्ठ, निरु दर्लामी, झापाका झलकसिंह दर्लामी, जनयुद्धका बेला मा‌ओवादी र अध्यक्ष पुष्पकमल दाहाल लिम्बुवानका खम्बा श्रीप्रसाद जवेगु, कार्भेका सूर्यमान दोङ, खोटाङका टंक राई र पुराना नेता झलकपानी तिवारी समेत केन्द्रीय कमिटीमा अटाएनन् ।

सेक्रेटरी योग्य, ईन्चार्ज अयोग्य ? 

माओवादी रुकुमका सेक्रेटरी गोपाल शर्मा केन्द्रीय कमिटीमा परेका छन् तर इन्चार्ज कुशल भने केन्द्रीय सदस्यको लिस्टबाट ‘आउट’ भए । रामेछापका इन्चार्ज मैनबहादुर मोक्तान परेनन् तर सह-इन्चार्ज श्याम श्रेष्ठ भने केन्द्रीय कमिटीमा अटाए ।  तर सेक्रेटरी शर्माले अगुवाहरु नपरेको भन्दै केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।

धावा लामा समेत छुटेका छन् जो ८८ जनाको केन्द्रीयमा नै थिए ।  पूर्व माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य आईपी खरेलले समकक्षीहरु धेरै छुटेको बताउँछन् ।

‘धेरै होनाहार कमरेडहरु छुटेका छन्, नेताका आसेपासे धेरै परेका छन्’ २०४२  सालको सेक्टर काण्डका नेता खरेलले भने,‘संगठनको हित गर्ने भन्दा चाकडी गर्नेले स्थान पाए ।’ उनले संगठनात्मक रुपमा क्रियाशील र विपक्षीबीच खरो उत्रेकाले समेत स्थान नपाएको गुनासो गरे । धेरै नेताहरु छु्टेपछि उनीहरुले समाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।  अन्नपूर्णपोष्टबाट