
२८ कार्तिक, सुर्खेत । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार आजबाट विधिवतरुपमा शुरु भएको छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ ।
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।
(विकिपिडियाबाट)
तिहारको पहिलोदिन आज “काग” तिहार
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।



Prawash Kumar Shakya । २८ कार्तिक २०७७, शुक्रबार ०८:२२ बजे