वीरेन्द्रनगर-९ मा U-19 फूटवल प्रतियोगिता शुरु


१४ चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले समाज रुपान्तरण र व्यक्तित्व विकासका लागि खेल अनिवार्य रहेको बताउनुभएको छ । वडामा रहेका टोल विकास संस्थाहरुको सहभागितामा आजदेखि सुरु भएको १९ बर्षमुनिको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“यूवाहरुको बोल लागुऔषध दुर्व्यसनी विरुद्ध हाम्रो गोल” को नारा लिएर ९ नं. वडालाई लागु औषध निर्मूल वडा बनाउनका लागी अभियानमा लागिरहेको पनि बताउनुभयो । पछिल्ला दिनहरुमा युवा पिढीहरु खेलप्रती आकर्षित हुदै गएको हुँदा खेल माध्यमबाटै समाजलाई रुपान्तरण गर्न सकिने उहाँको भनाई छ ।

त्यस्तै आज नै वडाले महिला लक्षित कार्यक्रम अन्तरगत शिपमूलक सिलाई कटाई तालिमको पनि शुभारम्भ गरेको छ । ३ महिना सम्म सञ्चालन हुने उक्त तालिममा वडामा रहेका ३५ वटा टोल विकास संस्थाका महिला सदस्यहरुको सहभागिता रहेको छ ।

यसैवीच देशभर अहिले विभिन्न जातजातिको पहिचान हुने गरि सञ्चालन भइरहेको होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आधारभूत तालिम पनि आजदेखि ९ नं. वडामा शुरु भएको छ ।

विषेश गरि वडामा रहेका ८ वटा थारु गाँउलाई समेटेर होमस्टे व्यवस्थापन एवं सञ्चालनका आधारभूत तालिम सञ्चालन गरिएको हो ।