समृद्ध कर्णालीकालागि सरकार र जनतावीच हातेमालो गरिनेः मुख्यमन्त्री शाही


२४ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समृद्धिको लागि सुचना प्रविधिको प्रयोग जोड दिईने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको जनतासंग मुख्यमन्त्री कार्यक्रम अन्तरगत हेल्लो मुख्यमन्त्री हटलाईन सेवा र वेवसाईट शुभारम्भ कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले सुचना प्रविधिको प्रयोग मार्फत प्रदेश समृद्धिको लागि सरकार र जनतावीच हातेमालो गर्ने बताउनुभयो ।
हटलाईन सेवाले कर्णाली प्रदेशको विकास, समृद्धि र समृद्धिका लागि नागरिकको सहयोग र सहभागितालाई सुनिश्चित गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । हरेक नागरिकलाई सरकार आफनै घरआँगनमा रहेको प्रत्याभुति दिलाउन र सरकारको सेवा प्रवाह तथा विकास निर्माणमा उनीहरुको सल्लाह, सुझाव र गुनासोको सम्वोधन गर्न यो सेवा शुरु गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । 
हेल्लो मुख्यमन्त्री हटलाईन सेवाको शुभारम्भ संगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर नरहरीनाथ गाँउपालिका ९ कालिकोटका प्रेम सार्कीले वडा सदस्य समेत रहनुभएकी आफनी आमा मना सार्कीको हत्याका सम्वन्धमा छानवीन गरि दोषिलाई कारवाही गर्न माग गर्नुभयो ।
त्यसैगरि रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक वाँठामगरले त्रिभुवन जनता आधारभुत विद्यालय भवन र साना सहरी खानेपानी आयोजनाको निर्माण कार्यमा चरम लापरवाही भएको तथा वर्षौं देखि निर्माण कार्य अलपत्र रहेको गुनासो गर्नुभएको थियो ।
मुख्यमन्त्री शाहीले दुवै समस्यालाई नोटीस गर्नुको साथै समस्या सामाधानका लागि सम्वन्धित निकायलाई निर्देशन गर्नुभएको छ ।
१०९६ नम्वरको हटलाईन सेवामा नागरिकले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारीक वेवसाईट http://ocmcm.karnali.gov.np/ मा कर्णाली प्रदेश सरकारसंग सम्वन्धित सवै सुचना उपलब्ध गराईएको छ ।