‘म पनि सरसफाई दुत’ सडक नाटक प्रदर्शन (फोटो फिचर)


जेठ २७, सुर्खेत ।

खाली बोत्तल, सिसा, पुरानो कागज, फलामका टुक्रा टाक्रि दिनुहोस् हजुर ? यस्तो अनुरोध र आग्रहका स्वरहरु प्रायजसो हामीले सँधैजसो सुन्ने गरेका छौं । यस्तो आवाज सुन्ने बित्तिकै बिशेषगरी केटाकेटीहरुले हत्तपत्त घरभित्र जम्मा गरेका ति सामानहरु कवाडीलाई दिन्छन्, केही पैसा या केही खानेकुरा माग्ने गर्छन् ।

कवाड संकलन गर्नेलाई हामीले हेयको दृष्टिले हेर्ने पुरानै परम्परा हो तर कवाड संकलन गरीएका कारण हाम्रो घर, आँगन, बस्ती, शहर सफा हुन्छ भन्ने कुरामा हामी बेखबर नै हुन्छौं ।

यस्तै भेषमा साइकलमा कवाड सामानहरु संकन गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको बिरेन्द्रचोकमा शनिबार साँझ एक्कासी रामप्रीत नामका मानिस पान चपाउँदै फोहोर संकलन गरेको दृष्य यथार्थ नभई सडक नाटक म पनि सरसफाई दुत को रहेछ ।

रामप्रीत अर्थात सडक नाटकका लेखक, निर्देशक तथा कवाड संकलनकर्ताको भूमिकामा देखिएका ललित भट्टराईको आवाज र उनको भेष देखेपछि स्थानियहरु एकाएक जम्मा भए अनि सुरुभयो सडक नाटक त्यही कवाडीलाई एक जना नेताले दुई रुपैयाँमा संकलन गरेर बिस रुपैयाँमा बिक्रि गर्ने तँ भाग् नाथे, कवाड भन्दै गाली र हात हालाहाल ।

यो दृष्यले मानिसहरुलाई एक्कासी सडक नाटक स्थल सम्म तान्यो अनि सुरु भयो सम्बाद । खुला दिशामुक्त जिल्ला घोषणा गरेपनि हाल सम्म पूर्ण सरसफाई भएको छैन । आँगन, सडक पेटी जताततै फोहोर मात्रै देखिन्छ, राजनैतिक दलका नेताहरु भाषण मात्रै गर्छन्, ब्यबहारमा देखाउँदैनन्, तिन दिनको एक दिन मात्र धारामा पानी आउँछ, झाडापखालाको क्रम रोकीएको छैन, हामी पनि फोहोरको ब्यबस्थापन गर्दैनौं, अरुले गरेको पनि रिस मान्छौं ।

खाना खानु अघि, खाना खाइसकेपछि, अन्य काम गरेपछि मिचिमिचि साबुन पानीले हात धुने बानीको विकास भएको छैन, हामी हिमाली, पहाडी र तराई भनेर आफैमा बिभक्त र बिभाजीत छौं, एकताका प्रतिक कहीकतै देखिदैन यस्तै यस्तै सम्वाद र दृष्यले त्यहाँ जम्मा भएका दर्शकलाई सडक नाटक मार्फत शन्देस प्रबाह गरे कलाकारहरुले ।

‘म पनि सरसफाई दुत’ नामक सडक नाटक सुर्खेत जिल्लाका मेहलकुना, जहरे, छिन्चु, बाबीयाचौर, साल्कोट, कुनाथरीमा प्रदर्शन गरेपछि मात्रै वीरेन्द्रनगरमा पनि प्रदर्शन गरीएको हो । खानेपानी तथा ढल निकास बिभाग वातावरण महाशाखाको सहयोग, द ग्रीनसिटी सेनीटेसन सेवा नेपालको समन्वय र मोन्टाज मिडिया प्रालिको आयोजनामा प्रदर्शन गरीएको हो ।

सडक नाटकमा ललित भट्टराई, कृष्णराज धमाला, अशोककुमार सिंह, दीपिका शर्मा, कल्पना कार्की, सविता राणा, अन्जु बुढा, सृजल बस्नेत, प्रवासकुमार शाक्य, आशा थापा मगरले अभिनय गर्नुभएको थियो भने नाटकको शसीकुमार केसीले ब्यबस्थापन गर्नुभएको थियो ।