सप्तरङ्गका कलाकारहरु सुर्खेतमा


२७ कार्तिक, सुर्खेत । शान्ती र सद्भावका लागी सप्तरंग यात्राका क्रममा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा भोली विहिवार सुर्खेतमा भव्य प्रस्तुती हुने भएको छ ।

पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यले राष्ट्रिय स्तरका चर्चित कलाकार अनुहारहरु सुर्खेत आईपुगेका हुन् । महानायक राजेश हमाल सहितको ७ जना कलाकारहरुको टोलीले आज वीरेन्द्रनगरमा संक्षिप्त पत्रकार भेटघाट कार्यक्रम गर्दै कर्णाली प्रदेश सास्कृतिक हिसावले भरिपूर्ण रहेको प्रतिक्रिया दिएका छन ।

महानायक राजेश हमालले यस क्षेत्रको कला संस्कृतिलाई आफुले यस अघि पनि पटक पटक नियाल्ने मौका पाएको बताउँदै उहाँले यस पटक भने आफुहरु फरक तरिकाले सुर्खेत आईएको बताउनुभयो । प्रादेशिक संरचना पछि कर्णालीको राजनितीक, सामाजिक, आर्थिक परिवेश नियाल्ने मौका पाएको महानायक हमालले बताउनुभयो ।

त्यसैगरी भोली हुने कार्यक्रममा महानायक राजेश हमाल सहित हास्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, गायिका मेलीना राई, सुगम पोख्रेल, र नेपाल आईडल रबि ओडको समेत उपस्थिती रहने छ । कलाकारहरुले फरक खालको सास्कृतिक कार्यक्रममा आम दर्शकको उल्लेख्य सहभागीता हुने अपेक्षा लिएको बताएका छन् ।

गृष्मा ब्रोडकास्टिङ्ग नेपालको आयोजनामा काफिया मिडिया सेन्टर सुर्खेतले कार्यक्रमको संयोजन गरेको हो । नेपाल भ्रमण वर्ष २०२०लाई प्रवर्धन गर्ने उदेश्यले कलाकारहरु देशका विभिन्न ठाउहरुमा प्रस्तुती देखाईरहेका छन् । भोली विहिवार दिउँसो साढे २ बजे देखी सुर्खेत स्थित सामाजिक विकास मन्त्रालय नजिकको खुल्ला मैदानमा कार्यक्रमको आयोजना गरिएको काफिया मिडिया सेन्टरका संचालक गणेशकन्चन भारतीले जानकारी दिनुभयो ।

‘सप्तरंग’ मार्फत् सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैल्याउने कार्यक्रम रहेको गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेको भनाई छ । कला संस्कृतिलाई उजागर गर्दै गत बुधवार देखी झापाको बिर्तामोडबाट कार्यक्रम शुरु गरिएको थियो । विर्तामोड लगत्तै कात्तिक २२ मा वीरगन्ज, २४ मा चितवन, २६ मा नेपालगन्ज, २८ भोली सुर्खेत , ३० गतेमा महेन्द्रनगर र मंसिर ४ गते पोखरा पुगेर कार्यक्रमको समापन हुनेछ आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रदेश एफ एम नेटवर्कले प्रत्येक्ष प्रशारण गर्नेछ ।