फेसबुकमा मायाजाल विच्छ्याएर ठग्ने जीवनको रामकहानी


अमेरिका जाने सपनाले ठगिए युवतीहरु

रमेश धमला

१३ चैत, काठमाडौं । शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको मुद्दा शाखाका डीएसपी रविन्द्र रेग्मीको कार्यकक्षमा युवतीहरुको भीड थियो । उनीहरु धारे हात लगाएर भन्दै थिए ‘त्यो फटा’लाई भेट्न पाएहुन्थ्यो ।

उनीहरुले खोजिरहेको फटाह अरु कोही नभएर अमेरिकी सेना हुँ भन्दै ठगी गर्ने जीवन लामा थिए । र, अहिले जसले उनलाई ‘फटाह’ भन्दै खोजिरहेका थिए, उनीहरु मध्ये धेरैले तीनै जीवनसँग विवाह गरेर अमेरिका जाने सपना देखेका थिए ।

जब बिहे गरेर अमेरिका उड्ने सपना देखाएर पैसा हात पारेका जीवन भागे, तब मात्र उनीहरुले ठगिएको पत्ता पाए । धेरैको उजुरी परेपछि प्रहरीले लामालाई क्राउ गरेको छ ।

२ पटकको भेटले २ लाख ६० हजार चट्

धरानकी रेश्मा राई ९नाम परिर्वतन०लाई करिब १ वर्ष अगाडी राजु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा फे्रन्ड रिक्वेस्ट आयो । केहिदिन सम्म त उनले स्वीकार गरिनन् ।

तर, पटक(पटक म्यासेज आउन थालेपछि फेसबुक साथी बनाइन् । अमेरिकाको क्यालिफोर्निया बस्ने बताउने राजुसँग उनको च्याटबाट गफ हुन थाल्यो । केहि महिनाको फेसबुक च्याटपछि राजुले आफू केहि दिनमा नेपाल आउन लागेको र आएपछि भेटने बताए ।

फेसबुकको कुराकानीबाटै नजिकिएकी रेश्मा पनि अमेरिकाबाट आउने राजुलाई भेटन तयार भइन् । गत अक्टोबरमा राजु नेपाल आइपुगेको खबर रेश्माले पाइन् । उनिहरुको भेटघाट पनि भयो दुई पटक ।

केहि दिनपछि राजुले रेश्मालाई फोन गरेर आफ्ना एक जना आफन्त बिरामी भएर भारतको बैंग्लोरमा उपचार गरिरहेकोले पैसा चाहिएको तर, आफ्नो अमेरिकाको एटीमबाट पैसा निकाल्न नमिल्ने सुनाए । आफूलाई तत्काल २ लाख भारु खोजिदिन आग्रह गरे ।

राजुको मोहमा फसिसकेकी रेश्माले २ लाख भारु त दिन सकिनन्, जसो तसो गरेर २ लाख ६० हजार नेपाली रुपैयाँ भने दिलबहादुर श्रेष्ठको नाममा आईएमई गरिदिइन् राजुको लागि । पैसा पठाएको भोलिपल्टैबाट राजु फेसबुक र फोन सम्पर्कबाट गाएब भए, किनकी उनी राजु नभएर ठग जीवन थिए ।

जसले सिक्री बेचेरै पैसा बुझाइन्

नुवाकोटकी रमा थापा ९नाम परिर्वत०लाई गत साउनमा सञ्जु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा साथी बन्न आग्रह आयो । केहीदिन स्वीकार नगरेपछि पटक(पटक म्यासेज आयो ।

आफू अमेरिकामा बस्ने र एउटै जिल्लाको भएको भन्दै कुरा गर्न खोजेको भन्दै पुरानै परिचय दिए । त्यसपछि फेसबुकमा कुराकानी हुनथाल्यो । मंसिरमा आफू नेपाल आएको भन्दै फोन गरे र गंगबुमा भेट्न बोलाए । ‘सन्जु’ रमालाई भेट्न चक्लेट लिएर पुगेका थिए ।

त्यसको केहि दिनपछि सुकेधारामा दोस्रो भेट भयो । त्यति बेला अमेरिकाबाट आएको बताउने सन्जुले रमालाई आइफोन उपहार दिएका थिए । तर, उनले अस्वीकार गरिन् । रमालाई के थाहा त्यही आइफोन दिएको बहानामा आफनो २ लाख चट हुन्छ भन्ने ।

केहीदिनपछि सन्जुले अंकलको छोरी बिरामी भएर थाइल्याण्ड लैजान लागेकोले पैसा जरुरी परेको भन्दै पोखराबाट फोन गरे । रमाले सुरुमा त आफूसँग पैसा नभएकोले सहयोग गर्न नसक्ने भन्दै टारेकी थिइन् । तर, पटक(पटक आग्रह आए पछि उनको मन पग्लियो ।

परिवारले खाजा खान दिएको पैसा जम्मा गरेको ५० हजार र घाँटीमा लगाएको सुनको सिक्री विक्री गरेर १ लाख ५० हजार जम्माभयो । केहि दिनमा फिर्ता गर्छु भनेकोले आमासँग थप एक लाख माग गरिन र २ लाख ५० हजार आइएमईमार्फत गरेर सन्जुलाई पठाइन् । तर, रमालाई के थाहा उनी जीवनको जालमा परेकी थिइन् ।

को हुन् जीवन रु

यो त प्रतिनिधि घटना मात्र हो जीवनले चलाएको गठी धन्दाको । प्रहरीका अनुसार उनले यसरी नै फेसबुकमा अनेक नामबाट पेज बनाउने, युवतीहरुसँग सम्वन्ध बढाउने र ठग्ने गर्दैर् आएका थिए ।

उनको नागरिकतामा रहेको नाम जीवन तामाङ छ । २००४ सालमा जीवन अफगानिस्तान गएको अनुसन्धानका क्रममा खुलेको छ । कहि वर्ष अफगानिस्तान बसाइको क्रममा केही अमेरिक सेनालाई साथी बनाए र उनीहरुसँग केहि तस्वीरहरु पछि खिचाए ।

अफगानस्तानबाट फर्किएपछि बेरोजगार जीवनले ठगी धन्दा सुरु गरे । उनले २०६९ सालमा मकवानपुरका एक व्यक्तिलाई अफगानिस्तान पठाइदिन्छु भन्दै ठगेको खुलेको छ । मकवापुरका ती पीडितसँग पनि जीवनको फेसबुकमार्फत नै चिनजान भएको थियो ।

करिब ४ लाख रुपैंया ठगी गरेको आरोपमा पक्राउ परेका उनी ७० साल चैतमा धरौटीमा छुटे । त्यसपछि भने उनले युवतीलाई निशानामा पारेर ठगी धन्दा चलाउन सुरु गरे ।

१६ जनाबाट ४२ लाख असुली, श्रीमतीको साथ

जीवन पक्राउ परेको खबर सार्वजनिक भएपछि उनीविरुद्ध उजुरी गर्नेहरु सानोतिनो भीड नै लागेको छ काठमाडौं प्रहरीमा । काठमाडौं बाहिर रहेका कतिपय पीडितले फोनबाटै उजुरी टिपाएका छन् ।

अहिलेसम्म १६ जना युवतीबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको जीवन आफैंले स्वीकार गरिसकेका छन् । अहिलेसम्म ठगेको पैसा कहाँ छ भनेर प्रहरीले खोजिरहेको छ । पछिल्लो पटक उनले ५ लाख रुपैयाँ पोखराका दाइ पर्ने व्यक्तिलाई पठाएको खुलेको छ ।

जीवनसँगै उनकी श्रीमती सूवी पनि प्रहरी हिरासतमै छिन् । जीवनले आफनो ठगी धन्दामा श्रीमती सुवीको पनि सहयोग लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विषेश गरेर आफुलाई विश्वास नगर्ने युवतीलाई बहिनी भन्दै श्रीमतीसँग कुरा गर्न लगाउँथे ।

फोटोसपको कमाल

चाबहिलस्थित जीवनको डेरामा छापा मार्न पुगेको प्रहरीलाई उनको कोठामा देखिएको दृष्यले चकित बनायो । बाराका ओबामादेखि जर्ज बुसुँगग खिचिएका तस्वीरहरु राखिएका थिए । तर, सबै फोटोसपबाट जोडिएका तस्वीरहरु थिए, जुन ठगी धन्दामा प्रयोग भएको छ ।

५ वटा कोठा भएको फ्ल्याटमा बस्ने उनले कुकुर पालेका थिए भने एउटा कोठामा छुट्टै मन्दिर नै खडा गरेका थिए । उनले फ्ल्याटको ३० हजार र एसीको ५ हजार गरेर महिनाको ३५ हजार भाडा बुझाउँथे ।

कोठामा अमेरिकन आर्मीको पोशाकमा सजिएको फोटो राखेर बसेरका जीवनको धन्दाबारे घरमालिकले समेत सुइको पाएका थिएनन् । करिब ४ महिना अघि उक्त घरमा बसेका जीवनले आफू अवकाश प्राप्त अमेरिकन सेना भएको बताउने गरेका थिए ।

प्रहरीलाई जीवनले आफू ३ कक्षा मात्रै पढेको बताएका छन् । तर, फेसबुकमा भने उनी पोख्त रहेछन् । जीवनले सबैलाई फेसबुकबाटै आफ्नो ठगी जालमा पारेका छन । फेसबुकबाटै युवतीको विवरण लिने र भेटनु अघि गाउँ पुग्ने र त्यसको फेहरिस्त सुनाउने उनको गजबको शैली थियो ।

फेसबुक ‘आतंक’ रोक्न नयाँ कानुन चाहिन्छः एसएसपी थापा

जीवन तामाङले फेसबुकको प्रयोग गरेर चलाएको ठगी आतंकले प्रहरीलाई चकित बनाएको छ । पछिल्लो समय समाजिक संजाल सूचनाको लागि जति उपयोगी छ उतिकै घातक बन्दै गएको उदारहण जीवन तामाङ भएको काठमाडौंका एसएसपी बिक्रम सिंह थापा बताउँछन् ।

नेपालमा सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा पक्राउ परेकाहरुलाई विद्युतीय ऐन अन्र्तगत कारबाही हुने गरेको छ । जुन निकै फितलो देखिने भएकोले सामाजिक सञ्जाल नियन्त्रण गर्न नयाँ कानुनको जरुरी भएको एसएसपी थापा बताउँछन ।

एसएसपी थापा भन्छन्, ‘फेसबुककै कारण कतिको ज्यान गएको छ, कति ठगिएका छन् । त्यस्तालाई कावारबाही गर्न प्रहरीलाई पनि प्रविधि चाहिन्छ र कानुन पनि नयाँ बनाउनु पर्छ ।’