सहकारी ठगी मुद्दा : पूर्व सिइयो बस्नेतलाई सवा दुईकरोड जरिवाना, साढे दुई बर्ष जेल सजाय


 २८ जेठ बेसीशहर :  कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई साढे २ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ जरिवाना फैसला गरेको छ।

सहकारीका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) रामबहादुर बस्नेतविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले यस्तो फैसला गरेको हो । अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार बस्नेतकी पत्नी सहकारीका तत्कालीन आर्थिक विभाग प्रमुख चिजालाई भने सफाई दिइएको छ।

उक्त मुद्दामा तत्कालीन न्यायाधीश अर्जुन अधिकारीको इजलासले पूर्वकार्यकारी अधिकृत बस्नेतलाई १ करोड २१ लाख रुपैयाँ र उनकी पत्नी चिजालाई १० लाख रुपैयाँ धरौटी लिएर २०७३ भदौ १६ मा रिहा गरेको थियो । जिल्ला अदालतले दिएको धरौटी आदेशलाई घटाएर पूर्वकार्यकारी प्रमुख बस्नेतलाई उच्च अदालत पोखराले २०७३ माघ २७ मा ५० लाख धरौटी राख्न आदेश दिएको थियो । पत्नी चिजाको धरौटी रकम यथावत् राख्न आदेश दिएको थियो ।

कृषक जागरणको कार्यकारी प्रमुख पदमा रहँदा बस्नेत दम्पतीले ३ करोड ९५ लाख हिनामिना गरेको भन्दै बिगो असुल उपरसहित कारबाहीको माग गर्दै सहकारी संस्थाको सञ्चालक समितिले प्रहरीमा २०७३ वैशाख २४ मा निवेदन दिएएको थियो । अदालतमा असार ५ मा मुद्दा दर्ता भएको थियो । सहकारी ठगी मुद्दामा वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल, मुद्दा जाहेरवालाका तर्फबाट अधिवक्ता लिलामणि पौड्याल, राजेश्वर अधिकारी र कृष्णप्रसाद अधिकारी साथै प्रतिबादी बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ताद्वय ज्योति बानियाँ र प्रवल शर्माले बहस गरेका थिए।

सहकारीका अध्यक्ष प्रेमबहादुर घलेले सञ्चालक समिति र लेखा समितिले स्वतन्त्र अडिटर सीए अभय पौडेलबाट गराएको लेखापरीक्षण प्रतिवेदनमा करिब ४ करोड रुपैयाँ हिनामिना भएको पाइएपछि उजुरी दिएको बताए । बस्नेतले संस्थालाई दिएको लिखित जवाफमा सहकारी विभागलाई ४५ लाख, सहकारी डिभिजनलाई २ लाख, नेफ्स्कुनलाई ५ लाख रकम घुस खुवाएको बताएका थिए । सहकारीको पाँच जिल्लामा शाखा विस्तार गर्न विभाग, डिभिजन र नेफ्स्कुनलाई पैसा खुवाएको बताएपनि यस विषयमा छानविन हुन सकेको छैन् ।

दोषी ठह¥याइएका बस्नेतले आफूमाथि अन्याय भएको भन्दै मुद्दाको पुनरावेदन गर्ने प्रतिक्रिया दिएका छन् । फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनको लागि माथिल्लो तहको अदालत जाने उनले बताए । २५ हजार भन्दा बढी शेयर सदस्य रहेको कृषक जागरण साकोस जिल्लामै सबैभन्दा बढी आर्थिक बारोबार गर्ने वित्तीय संस्थामा पर्छ । अन्नपूर्णपोष्टबाट