पान्तडी बेलीब्रिज निर्माणमा तिव्रता


जेठ ३०, कालीकोट ।

शेरी पान्तडी सडक खण्ड अन्तर्गत महावै गाउँपालिका वडा नं. ६ र खाडाँचक्र नगरपालिका वडा नं. ८ पान्तडीमा बेलीब्रिज निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । सडक डिभिजन कार्यालय जुम्लाको सहयोगमा महावै ६ निवासी अक बहादुर शाहीले पुल निर्माण कार्यको जिम्मेवारी लिएर धमाधम निर्माण कार्य अघि बढाएका हुन् ।

स्थानीयवासीले नै पुल निर्माण कार्यको जिम्मेवारी लिएका कारण वर्षा याममा नदीको भेल बढीरहेको अवस्थामा पनि डोरी लगाएर नदीमा सिमेन्ट तार्ने तथा चिनाई र ढलानका कार्य गरिरहेको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले वताउनु भयो ।

पुल निर्माण कार्य अबको महिना दिन भित्रै सम्पन्न गर्ने निर्माणकार्यको जिम्मेवारी लिएका अकल शाहीको भनाई छ । पुल निर्माण सँगै विशेषगरी महावै गाउँपालिकाका सवै वडाका साथै खाडाँचक्र नगरपालिकालाई र केही महिना पश्चात् कालीकोट जिल्ला र शेरी पान्तडी सडक निर्माण हुँदा सुर्खेत जुम्ला यातायातको लागि सहज हुने भएको छ ।

पुल निर्माणको लागि नेपाल सरकारको करिव ७० लाख सहयोग रहेको वताइएको छ । निर्माण स्थलमा पुल जडान तथा निर्माणका सम्पूर्ण सामाग्री पुगि सकेको निर्माण पक्षले जनाएको छ । सुर्खेत, दैलेख, महावु हुँदै जुम्ला सडक खण्डलाई समेत तत्कालका लागि सोही पुलले सहयोग पुग्ने भन्दै अब केन्द्र, प्रदेश तथा स्थानीय तहले सडक निर्माणमा विशेष वजेट व्यवस्था गर्न पर्ने महावै निवासी कालीकोट कम्युनिष्ट पार्टीका युवा नेता चित्रसिंह गाउँलेको भनाइ छ ।