असोज ३, सुर्खेत ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ र ३ लाई बालमैत्री वडा घोषणा गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला बालमैत्री स्थानिय शासन समन्वय समितिको बैठक बसि सवै प्रक्रिया पुरा गरेको जानकारी गराए अनुरुप तयारी अन्तिम चरणमा पुगेको हो ।
जिल्ला बालमैत्री स्थानिय शासन समितिका उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी बिष्टको अध्यक्षता, तिलागुफा नगरपालिका प्रमुख रतन शाही, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक, किर्डाक नेपालका जिल्ला संयोजक, जिल्ला बालकल्याण समितिका कावा अध्यक्ष लगायतका सरोकारवालाहरुको उपस्थितिमा बसेको बैठकले बालमैत्री स्थानिय शासन वडा घोषणा गर्नका लागि सुचकहरु पुरा भएको जानकारी दिइएको हो ।
सेभ द चिल्डेनका बालसंरक्षण अधिकृत बाले बिश्वकर्मा र किर्डाक नेपालका बालसंरक्षण अधिकृत प्रकाश शाहीले तिलागुफा नगरपालिका वडा नं १ र ३ ले बालमैत्री स्थानिय शासनका क्षेत्रमा गरेको कार्य र सुचकहरुको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो भने सम्पन्न बैठकले नगरपालिकाको अगुवाइमा जिल्लास्तरीय सरोकारवाला र नगरपालिका मार्फत अन्तिम अनुगमन गरेपछि नगरपालिकाले वडालाई घोषणा गर्ने तयारी गरेको तिलागुफा नगरबिकास समितिका अध्यक्ष महेन्द्र शाहीले बताउनु भयो ।
यस अघि संघिय संरचना पछि नेपालको पहिलो बालमैत्री वडाको रुपमा तिलागुफा नगरपालिका वडा नं २ र ४ लाई घोषणा गरिसकेको भने नगरपालिकालाई नै क्रमश बालमैत्री नगरपालिका बनाउने लक्ष्य रहेको नगर प्रमुख शाहीले जानकारी दिनुभयो ।



Milan Shrestha । ३ आश्विन २०७५, बुधबार १७:०८ बजे