७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । आफूलाई माओवादी कार्यकर्ता बताउने एक समूहले कार्कीलाई कालोमोसो दलेको हो ।
आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दाको पेशीका लागि कार्की बिहीबार सर्वोच्च अदालत पुगेका थिए । तर, कालो ज्याकेट र निलो जिन्स पाइन्ट लगाएका व्यक्तिले कालोमोसो दलेको आफ्नो हातले लोकमानको अनुहारमा प्रहार गरे । कार्कीको अनुहारमा कालो दाग स्पष्ट देखिन्थ्यो । त्यसको केही समयपछि कार्की अनुहार धोएर बाहिरिएका थिए ।
कडा सुरक्षा निगरानी हुने अदालतभित्रै कार्कीलाई आक्रमण गरेका व्यक्तिले ‘नेकपा माओवादी जिन्दावाद’को नारा लगाएका थिए । ति व्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका छन् ।


यसैविच
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले सर्वोच्च अदालत परिसरमा आफूमाथि भएको आक्रमण आफूविरुद्ध हुादै आएको षड्यन्त्रपूर्ण चालबाजीको एउटा कडी भएको बताएका छन् ।
तारेख बुझ्न अदालत पुगेका उनीमाथि विप्लव माओवादीका कार्यकर्ताले आक्रमण गर्दै कालो मोसो दलेका थिए । घटना भएको केही घन्टापछि विज्ञप्ति जारी गर्दै लोकमानले भनेका छन्,
सम्मानित सर्वोच्च अदालत परिसरमा आज मेरो मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले मलाई स्तब्ध र दुःखी बनाएको छ ।
उनले अघि भनेका छन्, न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा ममाथि भएको दुर्व्यवहारलाई मेरा विरुध्द केही महिना यता चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको छु ।
यो घटनाले आफू थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको उनले बताएका छन् ।
कार्कीले भनेका छन्, केही समय यता पूर्वाग्रहपूर्ण ढंगले जे जस्तो व्यवहार हुँदै आएको भए पनि सम्मानित न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाइसकेको छैन ।
साथै उनले यस्ता घटनाले आफ्नो आत्माविश्वासमा कुनै कमी नआउने बताएका छन् ।
साभारः अनलाइन खबर






Prawash Kumar Shakya । ७ पुष २०७३, बिहीबार १५:१३ बजे