
सुर्खेत, १२ असार । सुर्खेतमा यातनाको घटनामा कमी आएको दावी गरिएको छ । तराई मानवअधिकार रक्षक सञ्जाल बाँके र सुर्खेत मानवअधिकार रक्षक संजालले गरेको अनुगमन र अध्ययनका क्रममा जिल्लामा यातनाको घटनाहरुमा कमी आएको जानकारी दिएको छ ।
यातना पीडितको सहयोगार्थ अन्तर्राष्टिसय दिवसको अवसरमा मंगलवार सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा संजाल बाँकेका अध्यक्ष आलम खानले सुर्खेतमा मानवअधिकारको अवस्थावारे जानकारी दिदैं सुर्खेतमा विगत बर्षको तुलनामा यातनामा कमी आएको जिकिर गरे ।

६ महिनाको अवधिमा दुई वटामात्र यातनाका घटनाहरु भएको र त्यो पनि विभिन्न दवावले मिलापत्र गराइएको उनले जनाए । सुर्खेतमा लागूऔषध दुव्र्यसन र ओसारपसार जटिल बन्दै गएको र प्रहरीले रोक्न नसकिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै आत्महत्या, जबर्जस्ती करणीय, बालविवाह पनि यातनाको मुख्य कारक रहेको संजालले ठहर गरेको छ ।
यस्तै कहिलेकाही हुने राजनीति दलका भातृ संगठनहरुको कार्यक्रममा प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने गरेको पनि जनाइएको छ । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश सरकारले मानवअधिकारको सवाललाई प्राथमिकतामा पारेको बताए । उनले अहिले मन्त्रालय प्रदेश कानुन बनाउने चरणमा रहेकोले मानवअधिकारसंग सम्बन्धित संघसंस्थाहरुसंग सहकार्य गरेर अगाडि बढ्ने जनाए ।
उनले पनि विगतको तुलनामा अहिले मानवअधिकार उल्लंघन र यातनाका घटनामा कमी आएको जानकारी दिए । प्रदेशसभा सदस्यद्वय सीता नेपाली र धर्मराज रेग्मीले यातनाको अवस्था आउनै नदिनेतर्फ सचेत रहन सुझाव दिए । उनले अहिलेको समाजमा यातना अस्वीकार्य भएको भन्दै यातनाविरुद्धको कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रामकुमार यादवले प्रहरी मानवअधिकारप्रति सचेत रहेको दावी गरे । उनले शान्ति सुरक्षा खलल पार्न खोज्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने भन्दै यातना दिने काममा पनि कमी आएको उल्लेख गरे ।

कार्यक्रममा अधिवक्ता गीता कोइराला, पत्रकार महासंघका उपाध्यक्ष ललित बसेल, नेपाली का।ग्रेसका मोतीप्रसाद कँडेल, नेविसंघका केन्द्रीय सदस्य अनिल शाही, संजाल सुर्खेतका अध्यक्ष अशोक राजीले मानवअधिकार उल्लंघनका घटनाहरुमा कमी ल्याउनुपर्नेमा जोड दिएका थिए ।



Milan Shrestha । १२ असार २०७५, मंगलवार १६:०८ बजे