अख्तियारको ‘कोर्ट’मा बबई पुलः हाकिम दोषी कि पप्पु ?


ठेकेदार र सरकारवीचको झगडाले पुलको मर्मत अलपत्र

१३ असार, काठमाडौं । नेकपाका नेता वामदेव गौतमको गृह जिल्ला बर्दियाको जब्दीघाटस्थित बबई नदीमा पक्की पुल भासिएको एक वर्ष बित्नै लाग्यो । पुल भत्किनुमा सडक विभागका हाकिम दोषी छन् कि ठेकेदार (पप्पु कन्स्ट्रक्सन) दोषी छ भन्ने विवादका कारण अहिलेसम्म पुल मर्मत हुने सकेको छैन । दोषी खोज्ने क्रममा अहिले बबई पुल प्रकरण अख्तियारको कोर्टमा पुगेको छ । र, यो विषय अदालतमा समेत प्रवेश गरिसकेको छ ।

सरकारले समयमै काम नगर्ने ठेकेदारहरुको सूची तयार पारेर कारवाहीको चेतावनी दिइरहेका बेला बबई पुलको मुद्दा अलि फरक ढंगले सतहमा आएको छ । ठेकेदार पप्पु कन्स्ट्रक्सनले समयभन्दा अगावै पुल बनाएर हस्तान्तरण गरेको तर, एक वर्षपछि बाढीका कारण पुल भासिएको दाबी गर्दै आएको छ । सडक विभाग अन्तरगत पुल विभागका हाकिमहरुले भने पुल भत्किनुमा पप्पु कन्स्ट्रक्सन नै दोषी रहेको बताउँदै आएका छन् ।

आखिर, ०७४ साल साउन २९ गते आएको बाढीका कारण वीचमा केही मिटर भासिएको बबई पुलमा कसको कमजोरी छ ? ठेकेदार पप्पु कन्स्ट्रक्सनको ? या पुलको ठेक्का लगाउन भूमिका खेलेका सरकारी कर्मचारीहरुको ? यसबारेमा अख्तियार, अदालत वा कुनै विज्ञहरुको टोलीले छानविन वा निर्णय नगरेसम्म केही भन्न सकिने अवस्था छैन ।

कसरी पायो पप्पु कन्स्ट्रक्सनले ठेक्का ?

बबई नदीमा पुल निर्माणका लागि ०६८ साल असार २२ गते पप्पु कन्स्ट्रक्सन र सडक डिभिजन कार्यालय बाँकेवीच सम्झौता भएको थियो । सम्झौतापत्रमा डिभिजन कार्यालयका तत्कालीन प्रमुख भानु जोशीले हस्ताक्षर गरेका थिए । कुल १६ करोड ६८ लाख ४ हजार ३०८ रुपैयाँमा पप्पु कन्स्ट्रक्सनले पुलको ठेक्का हात पारेको थियो ।

पप्पले ०७३ असार २५ गतेसम्म पुल निर्माण गरी हस्तान्तरण गर्नुपर्ने थियो । उसले ०७३ असार २१ गते पुल बनाएर हस्तान्तरण गर्‍यो । हस्तान्तरण गरेको एक वर्षसम्म पुल राम्रैसँग चल्यो । तर, ०७४ साउन २९ गते बबई नदीमा बाढी आएका बेला पुलको पुलको १५ पाइल भासियो र पुलकोबीच भाग क्षतिग्रस्त भयो ।

बर्दियाको जब्दीघाटमा भासिएको यो पुल अहिले पनि जीर्ण हालतमै छ । सरकारले ठेकेदार कम्पनी पप्पु कन्सस्ट्रक्सनलाई गुणस्तरहीन निर्माण गरेको आरोप लगाइरहेको छ भने पप्पुले त्यसको खण्डन गर्दै आएको छ ।

पप्पु कन्स्ट्रक्सन भन्छ- सडक विभागकै गल्तीले पुल बिग्रियो

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पप्पु कन्स्ट्रक्सनले आफूमाथि सडक विभागका हाकिमहरुले दोषमात्रै थोपरेर पन्छिन खोजेको आरोप लगायो । बाढीमा पुलको एउटा पिल्लर भासिएपछि त्यसको कारणबारे सत्यतथ्य नै नबुझी निर्माण कम्पनीलाई आरोपित गर्ने काम भएको दाबी पप्पु कन्स्ट्रक्सनको छ ।

पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार भन्छन्- ‘ठेक्काको शर्तअनुसार ०७४ असार २० गते मर्मतसम्भार अवधि पूरा भइसकेको थियो । करार सम्झौताअनुसार मर्मत सम्भार गर्ने अवधि एक वर्षपश्चात कुनै पनि क्षति भएको खण्डमा सोको जिम्मेवारी हामीमा पर्दैन ।’

रौनियारका अनुसार ०७३ असार २१ मा पुल हस्तान्तरण गरिएको थियो र एक वर्षसम्म अर्थात ०७४ साउन २९ गते बाढीले क्षति नगर्दासम्म बबई पुलमा सवारी साधनहरु ढुक्कसँग चलेका थिए ।

तर, निर्माण सम्पन्न भएको एक वर्षपछि बाढीले पुल भत्काएकोमा सरकारी कर्मचारीले आफ्नो कमजोरी ढाकछोप गर्न निर्माण कम्पनीलाई दोष देखाइरहेको रौनियारको जिकिर छ ।

‘सरकारी निकायले आफ्नो कमीकमजोरीलाई छोप्न निर्माण कम्पनीको टाउकोमा दोष थोपर्न खोज्नु अत्यन्तै निन्दनीय, नाजायज र खेदजन्य काम हो । आफूले निर्माण गरेको संरचनाको गुणस्तरमा हामी सधैं सचेत र प्रतिवद्ध छौं,’ पत्रकार सम्मेलनमा वितरीत पप्पुको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सडक विभागको गलत डिजाइन र निर्णयका कारण हुन गएको क्षतिको दोष हामीमाथि खन्याउने प्रयासले हामीलाई अझ दुःखी तुल्याएको छ । सडक विभागले अहिले पनि सो प्रकरणमा यस कम्पनीमाथि दोष थोपरेर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयत्न गरिरहेको छ ।’

प्राविधिक त्रुटी ?

पप्पु कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का दिने क्रममा सडक विभाग अन्तरगत पुल विभागका कर्मचारी र इञ्जिनियरहरुले समेत लापरवाही गरेको ठेकेदार कम्पनीको आरोप छ । र, सोही लापरवाहीकै कारण पुल भासिएको हुन सक्ने विषयमा अझैसम्म गहिरो गरी छानविन हुन सकेको छैन । यद्यपि अहिले अख्तियारले सरकारी कर्मचारी र इञ्जिनियरमाथि पनि छानविन गरिरहेको छ ।

अघिल्लो डिजाइनमा पिल्लरको साइज ७ मिटर गोलाइ र १७ मिटर गहिरो हुनुपर्ने भनिएकोमा एभरेष्ट इञ्जिनियरिङले ७० सेन्टिमिटर गोलाइ सिफारिस गर्‍यो । बबईको पुलको पिल्लर ‘वेल डिजाइन फाउन्डेसन’ मार्फत बनाइएको भए पिल्लरको गोलाइ ७ मीटरको हुने थियो र फाउन्डेसन पनि बलियो हुने थियो

सडक विभागले पप्पुलाई ठेक्का दिँदा एमईएच कन्सल्ट्यान्टले तयार पारेको डिजाइन अनुसार पुल बनाउन निर्देशन दिएको थियो । सो डिजाइनमा पुलको लम्बाइ ४३५ मीटर र चौडाई ४.२५ मीटरको रहने उल्लेख थियो । सो डिजाइनमा पुलको पिल्लर ७ मीटर डाइमिटर एवं १७ मीटर गहिरो हुनुपर्ने उल्लेख थियो । पुलको फाउन्डेसन ‘वेल डिजाइन’ मा हुनुपर्ने एमईएच कन्सल्ट्यान्टको डिजाइनमा उल्लेख थियो । यसरी पुल निर्माण गर्दा यसको लागत ४० करोड अनुमान गरिएको थियो । तर, ठेक्का दिइयो १६ करोड ६८ लाखमा ।

सडक विभागले एमईएच कन्सल्ट्यान्सबाट प्राप्त डिजाइनलाई स्वीकृत गरिसकेको अवस्थामा सोही डिजाइन अनुसार नै पुल निर्माणको टेण्डर नोटिस जारी गर्नुपर्नेमा टेण्डर जारी गर्नुपूर्व एभरेष्ट इञ्जिनियरिङ कन्सल्ट्यान्सीका नाममा रहस्यमय तरिकाले पुलको रि-डिजाइन गर्‍यो ।

अघिल्लो डिजाइनमा पिल्लरको साइज ७ मिटर गोलाइ र १७ मिटर गहिरो हुनुपर्ने भनिएकोमा एभरेष्ट इञ्जिनियरिङले ७० सेन्टिमिटर गोलाइको ‘बोर पाइल फाउन्डेसन’ सिफारिस गर्‍यो ।

बबईको पुलको पिल्लर ‘वेल डिजाइन फाउन्डेसन’ मार्फत बनाइएको भए पिल्लरको गोलाइ ७ मीटरको हुने थियो र फाउन्डेसन पनि बलियो हुने थियो । तर, ७० सेमी गोलाकार पिल्लर बोरिङ प्रविधिबाट राखेर पुल निर्माण गरिएपछि वर्षायामको बाढी आउँदा पिल्लर भासियो । तस्वीरमा हेर्दै स्पष्ट हुन्छ, पुलमा पिल्लरहरु निकै साना र जमिनमा भासिने खालका देखिन्छन् ।

पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार भन्छन्- ‘वेल फउन्डेसनबाट पिल्लर बनाइएको भए पुल भासिने थिएन । पुलको जग खन्दाखेरि नै हामीले यहाँ माटो नभएर बालुवा छ भनेर विभागलाई सचेत गरायौं, तर उहाँहरुले एभरेष्ट कन्सल्टेन्सीकै डिजाइन अनुसार काम गर्न निर्देशन दिनुभयो ।

सडक विभागले एभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत गराएको पुनः डिजाइन नक्सामा ७० सेमी चौडाइको पाइल १५ मीटर गाड्ने गरी बोर पाइल फाउण्डेसनको डिजाइन बनाएको थियो । र, निर्माण लागत पनि ४० करोडबाट घटाएर २२ करोडमा झारेको थियो । पप्पुलाई त्यही डिजाइन अनुसार कामको ठेक्का दिइएको थियो ।

सडक विभागका कर्मचारीको कानमा तेल !

पप्पु कन्स्ट्रक्सनले काम सुरु गर्दा जमीनमुनि माटोको साटो बालुवा र गेगर भेटिएपछि तोकिएको डिजाइन -बोर पाइल फाउन्डेसन) मा निर्माण गर्दा जग कमजोर हुने देखियो । र, त्यसलाई पुनः डिजाइन गर्नुपर्ने भयो ।

त्यसपछि फेरि डिभिजन सडक कार्यालय नेपालगञ्जको आदेशमा पुनः माटो परीक्षण गरी मल्टी ल्याब प्रालिले ७ मीटर चौडाई र कम्तिमा १० मीटर गहिराइको वेल फाउण्डेसनमै काम अघि बढाउनुपर्ने रिपोर्ट नोभेम्बर २०११ मा दियो ।

मल्टी ल्याब प्रालिले तयार पारेको ७ मिटर चौडाई र १० मीटर गहिराईको वेल फाउण्डेसनको रिपोर्टलाई डिभिजन प्रमुखले स्वीकृतिका सडक विभागमा पठाए । तर, यो रिपोर्टलाई सडक विभागका तत्कालीन हाकिमले मानेनन् ।

नेपालगञ्जका डिभिजन प्रमुखले ०६८ साल पुस २९ गतेको सडक विभागको निर्णय उल्लेख गर्दै ०६८ माघ ३ गते पप्पु कन्स्ट्रक्सनलाई पत्र लखी पूर्ववत् ७० सेमी चौडाइको बोर पाइल फाउण्डेसन डिजाइनमा भएको सम्झौताअनुसार नै काम अघि बढाउन निर्देशन दिए । र, पप्पु कन्स्ट्रक्सनले पुरानै एभरेष्ट कन्सल्ट्यान्सीको डिजाइन अनुसार ७० सेमीका पिल्लरहरु प्रयोग गरेर बोर पाइल प्रविधिबाट पुल बनायो, जुन बबई नदीमा उपयुक्त नभएको दुई दुईवटा प्राविधिक अध्ययनले देखाइसकेका थिए ।

निर्माण कम्पनीका अनुसार ०६५ सालमै यही पुलका लागि एमईएच प्रालि, मल्टी र नेपेकोनले संयुक्तरुपमा गरेको डिजाइनमा सिंगल लेन (४.२५ मी) निर्माण गर्न ७ मीटर चौडाइ र १७ मीटर गहिराइको वेल फाउण्डेसन नै हुनुपर्ने र स्पानको दुरी २४ मीटर हुनुपर्ने रिपोर्ट बुझाएको थियो । करीब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको यो डिजाइन सडक विभागले स्वीकृतसमेत गरेको थियो ।

तर, टेण्डर नोटिसअघि एभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत रिडिजाइन गरी ७० सेमी चौडाइको पाइल १५ मीटर गाड्ने गरी बोर पाइल फाउण्डेसनको डिजाइन बनाइएको कम्पनी बताउँछ । यो डिजाइन बनाउँदा १ लाख ४४ हजार खर्च देखाइएको छ । जबकि बाढीले पुल बिगारेपछि रेक्टिफिकेसनसम्बन्धी पुल्चोक इञ्जिनियरिङलाई अध्ययन गर्न दिँदा सडक विभागले ४० लाख खर्च गरेको स्रोत बताउँछ ।

लागत न्यूनीकरणका लागि विभाग र मातहतका कार्यालयले पुलको फाउण्डेसनको डिजाइन नै कमसल बनाएको स्पष्ट हुने कम्पनीको दाबी छ ।

त्यसैगरी पुलको हाइड्रोलोजिकल एनालाइसिसमा पनि त्रुटि भएको कम्पनी बताउँछ । वर्षायाममा बबई नदीको बाढीले बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याउने ठूला रुखको जोखिमलाई पनि डिजाइनमा नसमेटिएको कम्पनीले ठोकुवा गरेको छ ।

यसैवीच बबई पुल सम्बन्धी विवाद यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोर्टमा छ । करिब एक वर्षसम्म चर्किएको विवाद अख्तियारबाट आउने निर्णयपछि नै समाधान हुने देखिन्छ । अख्तियारले ठेकेदार कम्पनीका साथै सरकारी कर्मचारी र इञ्जिनियरलाई समेत वयान लिइसकेको छ ।

यसैबीच वेल फाउन्डेसनको साटो ‘बोर पाइल फाउन्डेसन’को डिजाइन सिफारिस गर्ने एभरेष्ट कन्सल्ट्यान्टका कृष्णदेव यादवसँग पनि अख्तियारले वयान लिएको छ । यादवले उक्त पुलको डिजाइन आफूले नगरेको वयान दिएपछि सरकारी हाकिमहरुले कसरी एभरेष्टका नाममा रि-डिजाइनको कागज बनाए भन्ने रहस्य देखा परेको छ ।

सायद पुलको लागत घटाउन सरकारी कर्मचारीले यस्तो चलखेल नगरेको भए बबई पुलका पिल्लरहरु ७० सेन्टिमिटरका नभएर ७ मीटर गोलाइका हुने थिए कि ?

हेरौं अब अख्तियार र अदालतले यसको छिनोफानो कसरी गर्छ ।

पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारले पुल निर्माण गरी हस्तान्तरण गरेर मेन्टेन अवधिसमेत सकिएसकेको अवस्थामा पनि बाढीका कारण बिग्रन गएकोमा आफूलाई पनि दुःख लागेको बताए । कानुनीरुपमा आफूले बनाउनै पर्ने बाध्यता सकिए पनि निजी खर्चमा पुल बनाउन आफू तयार रहेको रौनियार बताउँछन् ।

रौनियार भन्छन्- ‘मैले सडक विभागलाई भनें, म आफ्नै खर्चमा पुल पुनर्निर्माण गर्न तयार छु, यसका लागि नक्शा डिजाइन, कार्यादेश र समय तोकेर दिनोस् । तर, यो पुल भत्कनुको कारणबारे स्वतन्त्र अनुसन्धान गरियोस्, मेरो गल्ती देखिए आफ्नै खर्चमा बनाउँछु, सडक विभागका कर्मचारीको गल्ती देखिए, मेरो लागत सरकारले व्यहोर्नुपर्छ ।’

तर, आफूले पुल पुनर्निर्माण गर्छु भन्दा पनि कर्मचारीहरुले काम गर्न नदिएको र आफ्नो कमजोरी लुकाउन निर्माण कम्पनीलाई दोष थोपरिरहेको रौनियारको आरोप छ ।

अहिले बबई पुलमा पप्पु कन्स्ट्रक्सनको कमजोरी देखाउन नसकेपछि काठमाडौंको टेकु पुलमा काम राम्रो नभएको प्रचार गरेर कम्पनीलाई बदनाम गर्न खोजिएको थप आरोप रौनियारले लगाए । तर, टेकुमा सरकारी कर्मचारीको रोहबरमा आफूले काम गरेको तस्वीरसमेत आफूसित रहेको उनले बताए ।

अनलाइनखबरबाट