कर्णाली प्रदेश संसद् बैठक तेस्रो पटक अवरुद्ध


सुर्खेत, असार १४ ।  कर्णाली प्रदेशमा प्रदेश सरकारले ल्याएको बजेट विनियोजनका विषयमा असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध भएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सरकारले नै भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाए । उनले बजेटलाई स्पष्ट रूपमा नराखी जनतामुखी भन्दापनी मन्त्रीमुखी बजेट निर्माण गरेको बताए ।

नेता शाहिले बजेट वक्तव्यमा किटान गरिएका नामहरू रातो किताबमा नआएको, प्रदेश प्रहरी गठन तथा भौतिक पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट स्पष्ट नभएको, सवारी साधनका लागि सस्तो मूल्यको साधन उल्लेख गरी रकम धेरै विनियोजन गरिएको भन्दै विनियोजित बजेटमाथि टिप्पणी गरे। उनले सवारी साधन खरिदमा बजार मूल्य भन्दा दोब्बर रकम बिनियोजित गरि मन्त्रीहरुले नै भ्रष्टाचार उन्मुख देखिएको बताए ।
यस्तै, शान्ति सुरक्षा अभियानका लागि पनि धेरै रकम छुट्याइएको तर स्पष्ट नभएको, प्रदेश सरकारले छुट्टै सञ्चारमाध्यम सञ्चालन, प्राकृतिक हिमाली चिडियाखाना लालीगुराँस संरक्षणलगायतका विषयमा प्रतिपक्षी दलले आपत्ति जनाएको हो।
विनियोज बजेट स्पष्ट रूपमा किताबमा उल्लेख भएर नआएसम्म संसद् बैठक चल्न नदिने भन्दै प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेको छ।
कर्णाली प्रदेशमा संसद् बैठक अवरुद्ध भएको यो तेस्रो पटक हो।

साभारः देउतीखबर ।