
सुर्खेत, १५ आषाढ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कर्णाली प्रदेशको आयोजनामा आइतबारदेखि प्रशिक्षण कार्यक्रम हुने भएको छ । युवाहरुलाई पार्टीको नीति तथा सिद्धान्तका बारेमा अझ शसक्त बनाएर अगाडि लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको युवक संगठनका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश प्रमुख सन्तोषि शाहीले बताउनु भयो ।
युवाहरुलाई प्रशिक्षण दिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भोली (शनिबार) सुर्खेत आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
सनातन हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्रका लागि पार्टीले आफ्नो तहबाट सधैं संघर्ष गरिरहने शाहीको भनाई छ । पार्टीले एउटा निर्वाचनमा हार व्यहोर्दैमा सबै सकिएको भनेर टिप्पणी गर्नेहरुको कमी नभएपनि पार्टीका सबै कार्यकर्ता तथा नेताहरुलाई धैर्यताका साथ संगठन निर्माणमा लाग्नु पर्ने बेला आएको राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत जिल्लाका अध्यक्ष मान बहादुर खड्काको भनाई थियो । युवक संगठनका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश प्रमुख सन्तोषि शाहीले भन्नुभयो, केही अराजक तत्वहरुका कारण पार्टीमा फुट आएपनि अन्तिम बिन्दु भनेको राजावादीदेखि हिन्दुवादी र समग्रमा ओमकार परिवारका सबैको एकताले धर्म र राष्ट्रियताको रक्षा हुनेछ । गणतन्त्रका नाममा जनताको पसिनाबाट आर्जित करमा मनोमानी गर्नेहरुले एकदिन मूल्य चुकाउनु पर्ने शाहीको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै सुर्खेतका पार्टी सचिव जनक सिंह ठकुरीले भन्नुभयो, युवाहरुलाई खाडि पठाएर रेमिट्यान्सको भरमा राज गर्नेहरु छोटा राजा भएको ठानीरहेका छन् तर अब राष्ट्र र धर्मको रक्षाका लागि युवाहरु एकजुट हुन थालिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो भएको खण्डमा आफूहरुको पत्तासाफ हुने देखेका कारण पनि विभिन्न शक्तिहरु लागेर राप्रपालाई फुटाएका कारण उनीहरुले यसरी जीत हात पारेका हुन् तर आगामी निर्वाचनहरु पनि यस्तै हुन्छन् भनेर सोच्नु व्यर्थ छ ।
पार्टीका केन्द्रिय अध्यक्ष कमल थापा, महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देल, महामन्त्री एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा तथा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमालले प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।
प्रशिक्षणमा भाग लिनका लागि कर्णाली प्रदेशका प्रत्येक जिल्लाबाट १० सहभागीहरु रहने आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
Milan Shrestha । १५ असार २०७५, शुक्रबार १०:२४ बजे