बिगतका समस्याहरु नदोहोरीने–मुख्यमन्त्री शाही


असार १८, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिगतका समस्याहरु फेरी दोहोरीन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । असम्भब भन्ने केही नहुने भन्दै उहाँले सकारात्मक रुपमा काम गर्ने हो भने सबै कुरा सम्भव हुनेमा जोड दिनुभयो ।

श्रमजिबि पत्रकार ऐनको कार्यान्वयन समस्या र समाधानका उपायहरु बिषयक प्रदेश स्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै पत्रकारहरुको हक हितका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । कर्णाली प्रदेश सरकार देशका अरु सरकार भन्दा नमूना सरकार बन्ने प्रयास गरीरहेको जानकारी गराउँदै कर्णाली प्रदेशका पत्रकारहरु पनि अरु प्रदेशका लागि उदाहरण बन्न आग्रह गर्नुभयो । उहाँले पत्रकारहरुले सकारात्मक रुपमा सरकारलाई सहयोग गर्न आग्रह गर्दै पत्रकारहरुको हितमा बिभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गर्ने जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर तुलाधरले आफूहरु देशभर श्रमजिबि पत्रकार ऐनको कार्यान्वयन गराउने अभियानमा लागेको जानकारी गराउँदै पत्रकारहरुको हितमा क्रियाशिल रहेको जानकारी गराउनु भयो ।

अन्तरक्रियामा उपप्राध्यापक त्रिभुवन बिसिले कर्णाली प्रदेशमा पत्रकारहरुको पारिश्रमिकका बारेमा कार्यपत्र प्रस्तुत् गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, कर्णाली प्रदेश पत्रकार संघका अध्यक्ष दुर्गा थापा, समितिका सदस्य गोबिन्द कोइराला, नेपाली कांग्रेस सुर्खेत सभापति कमलराज रेग्मि लगायतका बक्ताहरुले समाज रुपान्तरणमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले यस क्षेत्रको समग्र विकासमा आफूहरु सँधै लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।