युरोपमा पनि युवा अलपत्र, ३०५ जना उद्धारको पर्खाइमा
१२ चैत, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासो सुन्न व्यवस्था गरेको हटलाइनमार्फत ५८ जना नेपाली कामदारको उद्धार भएको छ ।
विभिन्न देशहरुबाट प्रहरीको ९७७(१७१७ नम्बरको हटलाइनमा आएका गुनासोका आधारमा ५८ जना नेपालीको विदेशबाट उद्धार गरिएको हो । उद्धारको माग गरेका ३ सय ५ जनालाई अझै स्वदेश फर्काउन बाँकी छ ।
जोखिमयुक्त अवस्थामा रहेका र छिटो उद्धार आवश्यक भएका कामदारलाई स्वदेश फर्काइएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी नायब उपरीक्षक ,डीएसपी, मुकुन्द मरासिनीले जानकारी दिए ।
विभिन्न माध्यमबाट वैदेशिक रोजगारका नाममा ठगिएका साथै विदेशमा अलपत्र परेका सम्मको उजुरी तथा गुनासो दैनिक आउन थालेपछि अपराध महाशाखाले दुई वटा हटलाई नम्बर स्थापना गरेको छ । विदेशबाट ४२६९७४१ र नेपालबाट ११७७ मा सिधै सम्पर्क गरेर आफनो समस्या राख्न सकिने प्रहरीले बताएको छ ।
हटलाइन सम्पर्क स्थापना भएपछि उजुरीहरु बढ्न थालेका छन् । केही महिना अघिमात्रै स्थापना भएको ११७७ मा ७७ वटा उजुरी परेका छन् । त्यस्तै निवेदनमार्फत ४१ वटा उजुरी तथा गुनासोहरु आएका छन् ।
महाशाखाले स्थापना गरेको हटलाइनमा २४ सै घण्टा फोन उठ्ने छ । त्यसका लागि राति पनि २ जना प्रहरी खटिने गरेका छन् ।
३६३ युवाले गरे उद्धार अपील
वैदेशिक रोजगारीमा जाँदा ठगिएका वा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेकाले हटलाइनमा फोन गर्ने क्रम पछिल्लो दिनमा बाक्लिएको छ ।
विदेशमा अलपत्र परेकाको उद्धारमा प्रहरीले सम्बन्धित कामदार पठाउने म्यानपावर कम्पनी, त्यहाँस्थित नेपाली दुताबास, गैरआवासीय नेपाली संघ लगायतको सहयोग लिने गरेको डीएसपी मरासिनीले बताए ।
महाशाखा काठमाडौंले वैदेशिक रोजगारीका बाहानामा ठगिएका र अलपत्र परेकाहरुको गुनासो सुन्न छुट्टै हटलाइन सेवा सञ्चालनमा ल्याएपछि १ सय ३८ वटा उजुरी त्यसैमार्फत दर्ता भएका छन् ।
यी उजुरीमार्फत ३ सय ६३ युवाले उद्धारका लागि प्रहरीसँग सहयोग मागेका छन् । जसमध्ये ५८ जनाको उद्धार गरिसकिएको छ । अहिले हटलाइनमा आएका गुनासोहरु सिधै रेर्कड हुने व्यवस्था छ ।
वैदेशिक रोजजारीमा ठगिएका, अलपत्र परेका र उद्धारको आवश्यक्ता भएकाले प्रहरीलाई गुहारेका हुन् । विदेशमा बिरामी परेर नेपाल फर्किन नसकेका युवाले पनि प्रहरीको ढोका ढकढक्याएका छन् ।
उद्धार गर्न बाँकी युवालाई जतिसक्दो छिटो नेपाल फर्काउन पहल भइरहेको महाशाखाले जनाएको छ । ‘बाँकीको उद्धारको प्रक्रिया पाइपलाइनमा छ’ डीएसपी मरासिनीले भने(‘जोखिमको मूल्यांकन गर्दै संवेशदनशील भएर हामी उनीहरुको उद्धारका लागि पहल गर्दैछौं ।’
युरोपमा पनि अलपत्र
प्रहरीको हटलाइनमा मलेसिया र खाडीबाट मात्र नभएर युरोपियन मुलुकबाट पनि नेपाली युवाले उद्धार माग्दै फोन गरेका छन् । रसिया, पोर्चुगल, साइप्रस लगायतका देशमा पुगेका धेरै युवाले प्रहरीसँग उद्धारका लागि आग्रह गरेका हुन् ।
आकर्षक कमाइ र उतै स्थायी बसोबासको प्रलोभनमा पारेर युरोप पुर्याइएका युवा अहिले प्रहरीसँग उद्धारको गुहार मागिरहेका छन् । सम्झौताअनुसार काम र तलब नपाएका कारण पनि उनीहरु उद्धारको प्रतिक्षामा देखिएको प्रहरीले जनाएको छ ।
‘नेपालीहरु धेरै जाने ओमान, कतार, कुवेत, साउदी, दुबई, मलेसिया लगायतबाट उद्धारको माग हुनु अस्वभाविक होइन’ मरासीनीले भने(‘तर पोर्चुगल, रसिया लगायतका देशमा पनि नेपाली युवा अलपत्र छन् ।’
प्रहरीको यो हटलाइन सेवा २४ सै घन्टा खुला राखिएको छ । वैदेशिक रोजगारीका नाममा बढेको मानव तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न उजुरी सुन्ने व्यवस्था गरिएको मरासिनीले बताए ।
‘रोजगारीका बाहनामा विभिन्न देशमा लगेर युवा युवतीलाई अलपत्र गर्ने क्रम चलिरहेको छ । अलपत्र युवाको उद्धार गर्न हटलाइन प्रभावकारी देखिएको छ’ उनले भने(‘यस्ता गुनासो सुन्न कै लागि हटलाइन स्थापना भएको हो ।
विदेशमा दुख पाउनु भो, हटलाइनमा सम्पर्क गर्नुहोस्
बिहीबार दिउँसो अपराध महपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल विभिन्न अपराधिक घटनाको पत्रकार सम्मेलनको तयारीमा थिए । त्यहीबेला उनको मोबाइलमा एउटा फोन आयो । फोन साउदीबाट आएको थियो ।
एसएसपी खनालले फोन उठाउनासाथ मलाई नेपाल फर्काइदिनुहोस भन्दै रोदनको आवाजमा गुनासो आयो । उनले फोन तत्कालै डीएसपी मधु मरासीनीलाई दिए र गुनासो रेकर्ड गर्न लगाए ।
साउदीबाट फोन गर्ने पीडित थिए मोरङका मौसम भट्ट । मौसमले आफनो सबै गुनासो डीएसपीलाई सुनाए । केही महिना अघि गोंगबु स्थित इक्वयटर म्यानपावर मार्फत साउदी पुगेका मौसमलाई सुरुमा सुपरमार्केटमा काम गर्ने भनेर पठाइएको थियो । तर, उनले सुपरमार्केमा होइन एउटा स्कुलमा सफा गर्ने काम गर्नु पर्ने भयो । त्यसमा पनि उनलाई धेरै दिन राखेनन् र कुचिकारको काममा लगाउन थाले ।
केही दिन अघि महाशाखाको फोन नंम्बर ४२६९७४१ नंम्बरमा मलेसियाबाट फोन आयो । मलेसियाबाट फोन गर्ने दिपेश क्षेत्री भन्दैथिए, एक नेपालीले नै आफु लगायत ५ जनाको पैसा लिएर फरार भयो, खोजिदिनुपर्यो
पैसा बुझाएर साउदी पुगेका भट्टले भनेको जस्तो काम र तलब त पाएनन नै, अहिले घर फर्किन प्रहरीको साहरा मागिरहेका छन ।
डीएसपी मरासीनीले उनको सबै गुनासो आवाज सहित रेकर्ड गरेर राखेका छन् । डीएसपी भन्छन्(हामी मौसमलाई पठाउने म्यानपावरलाई सम्पर्क गरेर उद्धारका लागि पहल गर्छौं ।
केही दिन अघि महाशाखाको फोन नंम्बर ४२६९७४१ नंम्बरमा मलेसियाबाट फोन आयो । मलेसियाबाट फोन गर्ने दिपेश क्षेत्री भन्दैथिए, एक नेपालीले नै आफु लगायत ५ जनाको पैसा लिएर फरार भयो, खोजिदिनुपर्यो ।
महाशाखाले रेकर्ड गरेर राखेको उनको गुनासोमा पीडित क्षेत्रीले ती फरार व्यक्तिलाई किन पैसा दिएका थिए खुलाएका छैनन् । प्रहरीले उजुरीकर्तासँग पैसा लिएर फरार व्यक्तिको पास्पोर्ट नं र ठेगाना उपलब्ध गराउन भनेको छ ।
दैनिक दर्जनौं गुनासो
महाशाखाले स्थापना गरेको हटलाइनमा दैनिक दर्जनौं गुनासोहरु आउने गरेका छन् । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार खाडी मुलुकहरु साउदी , कतार , दुवई , मलेसियासँगै रुस, पोर्चुगल, साइप्रस लगायतका देशबाट नेपालीहरुले फोन गरेर उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
विषेश गरेर नेपालबाट एउटा काममा भनेर जाने र उता अर्कै काम गर्नुपर्ने, भनेको तलब नपाउने जस्ता गुनासो सहितका फोनहरु धेरै आउने गरेका छन् । त्यसमा पनि दुःख पाएर नेपाल फर्किन खोजेका तर नसकिरहेकाहरुले स्वदेश फर्काइदिन भन्दै अपराध महाशाखामा फोन गर्ने गरेको एसएसपी खनाल बताउँछन् ।
कसरी हुन्छ उद्धार
विभिन्न देशमा अलपत्र परेका तथा नेपाल फर्किन नपाएको भन्ने गुनासो आएपछि महाशाखाले सरकारका अन्य निकायदेखि विभिन्न गैरसरकारी संस्था र गैरआवासीय नेपालीसँग समन्वय गरेर ती नेपालीहरुको उद्धार गर्ने गरेको छ ।
विदेशमा पुगेर अलपत्र परेका कतिपयका आफन्त महाशाखा मै पुगेर पठाउने व्यक्ति तथा म्यानपावर विरुद्ध उजुरी गर्छन् भने कतिपयले उतैबाट फोन गरेर उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
फोनमा आएको उजुरी आवाजसहित रेकर्ड हुनेछ । निवेदन दिएर पनि उजुरी गर्न सकिनेछ । त्यसरी आएका उजुरीहरुको अध्ययन गरेर महाशाखाले अनुसन्धान गर्ने अधिकृत तोक्छ र उसले विदेश पठाउने म्यानपावरदेखि व्यक्तिसम्मलाई सम्पर्क गरेर उद्धार तथा समस्या समाधान गर्न लगाउँछ ।
कतिपय म्यानपावरका सञ्चालकलाई फोन गरेर अपराध महाशाखामा बोलाइन्छ र कति दिनभित्र समस्या समाधान हुन्छ वा अलपत्र परेका व्यक्ति कहिले फिर्ता हुन्छ भन्ने समय सीमा तोकेर हस्ताक्षर गर्न लगाइन्छ । त्यसरी हस्ताक्षर गरेर गएपछि पनि पीडितको उद्धार नगर्ने म्यानपावर सञ्चालकलाई कार्वाहीको दायरामा ल्याउने महाशाखाको दावी छ ।




Milan Shrestha । १२ चैत्र २०७२, शुक्रबार ०९:४३ बजे