नेपाल स्वयंसेवी रक्तदाता समाज कञ्चनपुर शाखा गठन, अध्यक्षमा पुजारी चयन


महेन्द्रनगर, कञ्चनपुर । “आफ्नो रगतलाई साक्षी राख्दै सेवा र समर्पणको अभियानमा” भन्ने भावनाका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजको ४३औं जिल्ला शाखा कञ्चनपुरमा गठन गरिएको छ ।

महेन्द्रनगरमा आयोजित विशेष भेला कार्यक्रममार्फत समाजको कञ्चनपुर जिल्ला शाखा गठन गरिएको हो । समाजका केन्द्रीय अध्यक्ष तथा नेपालकै सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले गोरख पुजारीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मदन सिंह क्षेत्री, सचिवमा उत्तम बस्नेत र कोषाध्यक्षमा विशम्भर नाथ चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा गणेश बोहरा, बीरबहादुर चन्द, शैलेन्द्र राज जोशी, खेमराज ऐरी, कमला थापा पाण्डेय, गीता ओली, तुलसी पनेरू, बिन्दु श्रेष्ठ र पिताम्बर जोशी रहनुभएको छ ।

नवगठित समितिलाई मार्गदर्शन गर्न सल्लाहकारको भूमिकामा डा. भोजराज पन्त, डा. हिरा चन्द र प्रकाश बहादुर पाण्डेय रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले “रक्तदानजस्तो पुनीत कार्यलाई जनस्तरमा फैलाउन युवाको सक्रिय सहभागिता आवश्यक छ” भन्दै नवगठित समिति र सम्पूर्ण कञ्चनपुरवासीलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमले रक्तदानलाई केवल एउटा सेवा नभई जीवन र मृत्युको दोसाँधमा रहेको व्यक्तिका लागि आशाको दियो भएको सन्देश फैलाउने उद्देश्य लिएको बताइएको छ ।