पुर्नस्थापनाका लागि तटबन्धन शुरु


सुर्खेत । वर्षा याम शुरु भएसँगै कतै खेतीपातिमा मानिसहरु व्यस्त छन् भने कतै वर्षाले निकै सास्ती बनाएको छ । विगतमा पनि वर्षायामको पानीले कतिपय मानिसलाई घरबार बिहिन बनायो त कतिलाई बसाइँ सराइ नै गर्न बाध्य बनायो । २०७१ सालमा आएको बाढिले सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामु पनि यस्तै समस्या आईप¥यो । २०७१ साल साउन ३१ गते राति परेको अबिरल बर्षाका कारण भेरी नदिमा बाढी आँउदा जामुमा रहेका ५७ घर परिवार विस्थापित मात्र भएनन् २१ जनाले ज्यानै गुमाउनु पर्यो । अहिले उक्त स्थान बगरमा परिणत भएको छ । उक्त दिनलाई यसरी सम्झन्छन् पीडित रघु विक ।

बगर देखिएको यो स्थानमा विसं. २०२८÷२९ सालदेखि राजी जातिहरुको बसोबास सुरु गरेका थिए । यो स्थानमा पहिले खेतियोग्य जमिन र बस्ती रहेको थियो । तर बाढीले सबै बगाएपछि यस स्थानको स्वरुप नै परिवर्तन भएको छ । यस स्थानमा जलउत्पन्न कार्यालय सुर्खेतले तट्बन्धनको काम गरिरहेको छ । तटबन्धनको काम भए पछि फेरि पहिले कै स्थानमा यहाँका बासिन्दा फर्कन पाउने उनीहरुले विश्वास लिएका छन् । पहिलेको जस्तै खेती नभए पनि उक्त क्षेत्रमा तरभुजा, बदाम, खेति गर्न सकिने र विस्तारै यहाँको जमिन पुरानै अवस्थामा पुग्ने आशा स्थानीयले लिएका छन् ।

जल उत्पन्न कार्यालय सुर्खेतले ढिलै भए पनि तटबन्धन गरेर आफ्नै जग्गा जमिनमा उब्जनी गर्न पाउने उनीहरुले आशा गरेका छन् । खेतीयोग्य जमिनलाई बगरमा परिणत गरे पनि बंगुर पालन र बदाम खेती गरेर जिविकोपार्जन गर्न सकिने स्थानीयले बताए ।
बाढिले बगाएका केहि स्थानमा मानिसहरु कोहि बदाम खेति सुरु गरेका छन् भने कोहि सुरु गर्ने अवस्थामा छन् । कोहि मानिसहरु अझै पनि आफ्नै बस्तीमा बस्न पाउँछै भनेर त्रिपालमा कुरिरहेका छन् । बालुवा जस्तो स्थानमा अन्य खेति नभए पनि बदाम खेति तथा अन्य खेति बंगुर पालन आदि गर्न सकिने स्थानीय मानसिंह विक बताउँछन् । सरकारले गरेको उक्त काम पहिले नै यस्तो काम भएको अवस्थामा आफुहरु यो अवस्थामा नपुग्ने स्थानिय बताउँछन् ।
जल उत्पन्न कार्यालयले तटबन्धन गरिदिएर स्थानीय गाउँमात्र होइन विद्यालयलाई पनि जोगाउने काम गरेको छ । विद्यालयमा हुन सक्ने सम्भावित जोखिमलाई रोकेर बालबालिका पढ्ने स्थानलाई लाई सुरक्षित बनाएको स्थानीय पुष्पा खड्काले बताइन् ।

२०७१ सालको बाढिले क्षतविक्षत बनाएका स्थानको अवलोकन गरी बजेट विनियोजित गरेर काम भइरहेको जल उत्पन्न कार्यालय सुर्खेतका इन्जिनीयर तारा वाग्लेले जानकारी दिए । उनले जामु क्षेत्रको तटबन्धनको काम लगभग अन्तिम चरणमा पुगेको बताए । उनले सुर्खेत जिल्लामा यस किसिमको तटबन्धन नयाँ भएको र यस काम प्रति आफूहरु सन्तुष्ट भएको समेत बताए ।

साभारः नेपालगाथा ।