जापान: ओम् शिन्रिक्यो समूहका नेतालाई मृत्युदण्ड


जापानको टोक्योस्थित एउटा सब-वे मा सन् १९९५ मा स्नायुप्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी हमला गर्ने एउटा सम्प्रदायका संस्थापकलाई मृत्युदण्डको सजाय दिइएको छ।

शोको आशहारा आफूहरूबाहेक पृथ्वीमा रहेको सबैकुरा समाप्त हुँदैछ भन्ने हल्ला चलाउने ओम सिनरिक्यो समूहका नेता थिए।

बिहानीको व्यस्त समयमा टोक्योको रेलप्रणालीमा सो सम्प्रदायका सदस्यले सारिन ग्यासबाट हमला गरेपछि कम्तीमा १३ जना मारिएका थिए र हजारौँ घाइते भएका थिए।

उक्त समूहका अन्य छ सदस्यहरू पनि मृत्युदण्डको सजाय कुरिरहेका छन्।

मृत्युदण्डको सजायको कार्यान्वयन दोषी ठहर गरिएका अन्यहरूको अन्तिम पुनरावेदन प्रक्रिया पूरा नभएसम्म रोकिएका थिए।

त्यो ज्यानुअरीमा सम्पन्न भएको थियो।

जापानमा एकदमै गम्भीर प्रकृतिका हत्याका घटनामा मात्र दोषीहरूलाई मृत्युदण्डको सजाय दिइन्छ। यस्तो सजाय पाउने व्यक्तिहरूलाई त्यहाँ झुन्ड्याउने गरिएको छ।

टोकियो आक्रमण के थियो?

सन् १९९५ को मार्च २० मा ओम् शिन्रिक्यो सम्प्रदायका सदस्यहरूले जापानको राजधानी टोकियोको सब-वेमा सारिन ग्यासबाट हमला गरेका थिए।

उनीहरूले स्नायुप्रणालीमा असर गर्ने रसायनहरूले भरिएका प्वाल परेका झोलाहरू टोकियोको प्रमुख क्षेत्रतर्फ गइरहेका रेललाइनमा राखिदिएका थिए।

प्रत्यक्षदर्शीहरूले ती झोलाहरूबाट चुहावट महसुस गरेको र त्यसको लगत्तै एकदम पीडा दिने धूँवा आँखातर्फ आएको बताएका थिए।

केही सेकेन्डभित्रै सो हानिकारक पदार्थले मानिसहरूलाई असर गर्न थालेको थियो। उनीहरूले निस्सासिएको, बान्ता गरेको र केहीले अन्धोपन र पक्षाघातजस्ता समस्या भोगेका थिए।

तेह्र जनाको मृत्यु भएको थिए।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्टेशनहरूमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने असफल प्रयास गरेका थिए।

देशमा रहेको न्यून अपराध दर र सामाजिक एकतालाई लिएर गर्व गर्ने जापानलाई उक्त आक्रमणले स्तब्ध बनाइदिएको थियो।

हमलापछि सो समूहका कैयौँ सदस्यलाई अभियोग लगाइएको थियो जसमध्ये आशहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

अन्य छ जनाले आजीवन कारावासको सजाय भुक्तानी गरिरहेका छन्।

म् शिन्रिक्यो सम्प्रदाय के हो?

आफ्नो नामको अर्थ ‘सर्वोच्च सत्य’ भएको यो सम्प्रदायले सन् १९८० को दशकमा हिन्दू र बौद्ध मतलाई मिलाएर पछि पृथ्वी अन्तत: विनाश हुने इसाई धर्मको मान्यताका केही अवधारणाहरू पनि अङ्गीकार गरेको थियो।

यो समूहका संस्थापक सोको आशहाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान प्राप्त भएको’ बताएका थिए।

ओम् शिन्रिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभरि थिए। उक्त संस्था आफ्नो उचाइमा हुँदा दशौँ हजार समर्थक थिए।

तर बिस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो।

सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भएपनि हराइ चाहिँ हालेन। सो सम्प्रदायको ‘एलेफ’ र ‘हिकारी नो वा’ भनेर पुर्ननामकरण गरिएको थियो।

ओम् शिन्रिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौँ देशहरूले आतङ्कवादी संगठनको सूचीमा राखेका छन्।

‘एलेफ’ र ‘हिकारी नो वा’ दुवै समूह जापानमा वैध छन्। तर उनीहरूलाई ‘खतरनाक धर्म’ भन्दै निगरानी गर्ने गरिएको छ।

उनीहरूका जापान र अन्य देशहरूमा पनि अनुयायीहरू छन्।

सन् २०१६ मा रुसको प्रहरीले उक्त सम्प्रदायका सन्दिग्ध सदस्यको खोजीका क्रममा मस्को र सेन्ट पिटर्स्बर्गमा छापा मारेको थियो। बिबिसि नेपालबाट