‘चौबिसै घण्टा बिजुली सेवा बन्द’


२२ फागुन, देशभरिका झण्डै ३ दर्जन निजी संघ संस्था, उद्योग, अस्पताल र व्यवसायीलाई चौबिसै घण्टा दिइंदै आइएको बिजुली सेवा बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारी निकायहरुको निर्देशनमा त्यस्तो सेवा बन्द गरिएपछि वितरण प्रणालीमा केही राहत मिलेको प्राधिकरणका अधिकारीहरुले बताएका छन्। त्यसबाट बचेको झण्डै १४ मेगावाट बिजुली नियमित प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार बिजुली कहिल्यै नकाटिने उक्त सेवा अर्थात विशेष फिडर सेवा लिने निजी संघ संस्था र व्यवसायीहरुको संख्या ३० छ।

बन्द

प्राधिकरणले एक हप्ताको बीचमा ती सम्पूर्णको सेवा बन्द गरिसकेको छ। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने, “सरकारी कार्यालय, अस्पताल, प्रतिष्ठान बाहेक अर्को निर्णय नभइञ्जेलसम्मका लागि निजी क्षेत्रमा जडान गरिएका चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने सुविधालाई स्थगित गरेर नियमित लोडशेडिङ तालिकामा राखेका छौँ।”
अहिले दैनिक १४ घण्टासम्मको लोडशेडिङ खेप्नुपरेका बेला केही उद्योगीलाई मात्र अनधिकृत रुपमा त्यस्तो सेवा दिन नहुने भन्दै संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि फिडर सेवाको बहस बाहिर आएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा फिडर सेवा काट्न थालिएको प्राधिकरणका अधिकारीहरु बताउँछन्।

सुधार

यसले लोडशेडिङको समयमा उल्लेखनीय कटौती नभएपनि प्राधिकरणको प्रणालीलाई केही राहत र प्राविधिक समस्यामा कमी हुने कार्यकारी निर्देशक काफ्ले बताउँछन्। उनले भने, “एक दुई महिनाअघि मात्र थुप्रै प्राविधिक समस्या हामीले भोगेकै हो तर अहिले हाम्रो प्रणालीको प्रगतिमा जस्तै भोल्टेजको सुधारदेखि अरु हाम्रो प्रणालीलाई बलियो बनाउन यसले सघाउ पुगेको छ।” यसअघि अत्यावश्यक सरकारी सेवा र त्यस्तै प्रकृतिको निजी संस्था र उद्योगलाई दिइंदै आइएको फिडर सेवामा विगतमा साधारण उपभोक्तासरह शुल्क लिने गरिएको थियो। तर प्राधिकरणले हालै नियम परिवर्तन गरी त्यस्ता सेवाग्राहीसँग दोब्बर शुल्क लिन थालेको थियो।
साभारः विविसी नेपाली सेवा