उत्कृष्ट प्रदर्शन गर्दे फ्रान्स सेमिफाइनलमा प्रवेश


काठमाडौं । रुस विश्वकपमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले उरुग्वेमाथि २–० को जित निकालेको छ । उरुग्वे भने विश्वकप २०१८ बाट बाहिरिएको छ ।  पौने आठबाट निझ्नी नोभगोरोद रंगशालामा  सुरु भएको खेलको पहिलो हाफमा सुरुवाती अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा झनै उरुग्वेलाई दबाबमै राख्यो ।

फ्रान्सका लागि पहिलो गोल खेलको ४० औं मिनेटमा डिफेन्डर राफेल भरानेले गरेका थिए । डिबक्स नजिकै पाएको फ्रिकिकबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । एन्टोइन ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकलाई  डिफेन्डर भरानेले हेडमार्फत गोल गरेका हुन् ।  त्यस्तै दोस्रो हाफमा ग्रिजम्यानले गोल गरे । उनले खेलको ६२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।  उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो भने फ्रान्सले सन् १९९८ मा विश्वकप जितेको थियो ।