पानी छोएको निहुँमा कुटपिट गर्नेलाई जेल सजाय


असार २७, जनकपुर

पानी छोएको निहुँमा महोत्तरीको बर्दिवास–४ भब्सी टोलका विश्वकर्मा आमाछोरीलाई कुटपिट गर्ने दुईजनालाई अदालतले जेल सजायको फैसला सुनाएको छ ।

छुवाछुतको घटनामा सम्भवत: पहिलो पटक पीडकलाई जेल सजाय तोकिएको हो।
महोत्तरी–४ भब्सी टोलका ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषालाई पानी छोएको निहुँमा कुटपिट गरेका स्थानीय कमला गिरी र रामबाबु दाहाललाई जिल्ला अदालत महोत्तरीका न्यायाधीश दण्डमणि शर्माको इजलासले जरिवाना र क्षतिपूर्तिसहित जेल साजयको फैसला सुनाएको हो।
असार २४ गते अदालतले गरेको फैसलामा कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना र दाहाललाई २ महिनाको कैद सजाय तोकिएको छ। अदालतले दुवैसित १० हजार जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिसहितको कैद सजायको फैसला गरेको छ।
थुनछेकको बहसमा ७० हजार रुपैयाँ धरौटीमा छुटेका पीडक गिरी र दाहाल भने अदालतको फैसलापछि पनि कारागार चलान भएका छैनन्।
पीडितलाई कानूनी सहायता दिएका अधिवक्ता दिपक विश्वकर्माले जिल्ला अदालतको फैसलापछि पुनरावेदन गर्ने अधिकार रहेकाले उनीहरुलाई हिरासतमा नराखिएको अड्कल गरे। उनले छुवाछुतको मुद्दामा कैद सजायसहितको फैसला भएको यो नै पहिलो घटना भएको दाबी गरे।
२०६८ सालमा आएको ऐनमा छुवाछुतलाई सरकारवादी मुद्दामा परिणत गरिएपछि कैदको समेत बन्दोबस्त गरिएको छ। पीडित मनिषाले अदालतको फैसलापछि पनि गाउँमा छुवाछुत कै व्यवहार भइरहेको बताइन्।
वैशाख १५ गते साँझ चौतारोको धारामा पानी थाप्न पुगेकी मनिषालाई पानी छोएको निहुँमा दिपिका गिरीले कुटपिट गरेकी थिइन्। बोतलमा पानी थापेर गिरीले राखेको पक्की ठाउँलाई मनिषाले टेक्नुलाई नै उनले छुवाछुत भएको भन्दै उनलाई कुटेकी थिइन्।
‘पानी राखेको ठाउँमा किन टेकिस् भन्दै दिपिकाले मलाई हप्काउन थालिन्,’ मनिषाले कान्तिपुरसँग भनिन्, ‘किन मैले छोएको पानी खानुहुन्न र? भन्दा उनले आमा बोलाएर कुट्न लगाइन्।’
‘सानो जातको त धेरै नबोल’ भन्दै दिपिकाको आमा कमलाले मनिषालाई कुटपिट गरेकी थिइन्। मनिषाका अनुसार उनलाई आमाछोरी मिलेर कुटपिट गर्दा गाउँले सबै रमिते बनेर हेरिरहेका थिए। गुहार माग्दा पनि कोही बचाउन आएनन्।
रुँदै घर पुगेकी मनिषाले पानी छोएको निहुँमा कुटपिट गरेको घटना आमा बुद्धमायालाई सुनाइन्। बुद्धमायाले छोरीलाई किन कुटेको भनेर सम्झाउन जाँदा कमला र रामबाबु मिलेर फेरि आमाछोरीलाई कुटपिट गरेका थिए। कुटपिटपछि बुद्धमाया अझै राम्रोसँग बोल्न सक्दिनन्। कान्तिपुरबाट