जिल्ला स्तरीय रनिङ्ग शिल्ड हुँदै


६ फागुन, बाँके । नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोलिदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने भएको छ । यो बर्ष बाँकेका चारै निर्वाचन क्षेत्रमा भएका प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतिय भएकाहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

THE-TRITNA-300x75

आयोजक जिल्ला खेलकुद विकास समिति बाँकेले शुक्रवार पत्रकार सम्मेलन गरी कुल ८ लाख रुपैयाँको लागतमा प्रतियोगिताको आयोजना गरिने र त्यसका लागि आवश्यक तयारी भईसकेको जानकारी दियो । समितिका कार्यबाहक अध्यक्ष पदम बुढाथोकीले भने, ‘जिल्ला विकास समितिले २ लाख, खेलकुद मन्त्रालयले ढाई लाख र जिल्ला शिक्षा कार्यालय बाँकेले २० हजार रुपैयाँ सहयोग उपलब्ध गराईसकेका छन् । अन्य प्रायोजकहरु खोज्ने काम पनि भईरहेको छ । यो बर्ष प्रतियोगिता तुलनात्मक रुपमा अब्बल हुने हाम्रो विश्वास छ ।’

प्रतियोगितामा क्षेत्र नम्बर १ बाट ३९, क्षेत्र नम्बर २ बाट ९, क्षेत्र नम्बर ३ बाट २८ र क्षेत्र नम्बर ४ बाट ३४ विद्यालयले जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुँदैछन् । प्रतियोगिता अन्तरगत समूहमा कबड्डी, एथलेटिक्स र भलीबल तथा इन्डिभिजुअल तर्फ तेक्वान्दो, उसु र कराँते खेल समावेश गरिएको छ । प्रतियोगिताको विजेता टोलीले १५ हजार, उपविजेताले १२ हजार र तृतिय हुनेले ९ हजार रुपैयाँ प्राप्त गर्नेछ । आईतबार उद्घाटनको दिन सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी तथा बाँकेको खेलकुद उत्थानका लागि विभिन्न प्रतियोगिताहरु आयोजना गर्नेहरुलाई सम्मान गर्ने तयारी गरिएको पनि समितिका कार्यबाहक अध्यक्ष बुढाथोकीले जानकारी दिए ।